काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानका सम्बन्धमा आफूले केही पनि बोल्न नमिल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले सुन तस्करीका विषयमा अनुसन्धान गर्न नेपाल सरकारले उच्च स्तरीय छानबिन समिति गठन गरेकाले त्यस सम्बन्धमा आफूले बोल्ने कानुनी आधार नरहेको तर्क गरेका हुन् ।
उनले सुन तस्करीका सम्बन्धमा भइरहेको समितिको अनुसन्धानमा भने आफूले आवश्यक सबै सहयोग गर्ने पनि स्पष्ट पारे । बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार भेटघाट गरी प्रहरी महानिरीक्षक खनालले सुन तस्करीलाई नियन्त्रण गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । सुन तस्करी नियन्त्रणका लागि नेपाल सरकारले उच्च स्तरीय समिति बनाएकाले त्यसले दिएको प्रतिवेदनको आधारमा मात्रै अघि बढ्न सकिने महानिरीक्षक खनालको भनाई छ ।
प्रहरी महानिरीक्षक खनालले आफूले मुलुकको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले नेपाल प्रहरीलाई संघीय ढाँचा अनुसार अघि बढाउन प्रहरी प्रधान कार्यालयले आवश्यक कानुनको ड्राफ्ट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको पनि जानकारी दिए । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले जनताको सुरक्षाका लागि नै कानुन र ऐन निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।
नेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरे । पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागू औषध नियन्त्रणको कामलाई प्रहरीले विशेष कार्यक्रमको रुपमा अघि बढाएको पनि स्मरण गराए ।