काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकमाथि आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सूचना प्रविधि सम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेसले विरोधीलाई अंकुश लगाउने मनसायका साथ विधेयक ल्याइएको आरोप लगाएको हो ।
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने गरी सामाजिक सञ्जालमा अंकुश लगाउन नमिल्ने तर्क कांग्रेसको छ । कांग्रेसको प्रतिनिधित्व गर्दै सांसद गगन थापाले तात्कालीन राजा ज्ञानेन्द्रले आलोचना हुन नदिन फोन बन्द गरेको प्रसंग स्मरण गराउदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभयो ।
सांसदहरुको जबाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नभएको कुरालाई हो भनेर समय खेर फाल्नु आवश्यक नै नभएको स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालले चरित्र हत्या गर्ने गरेको भन्दै सरकारले ल्याउन लागेको विधेयकले सञ्जालको विसंगतिलाई रोक्ने उहाँको दावी थियो ।
बैठकमा नेकपा सांसदहरुले समेत विधेयकमा व्यक्तिगत रुपमा खोलिएका नभई फेसबुक वा टुईटर कम्पनीलाई नेपाल सरकारको कानुन मातहत ल्याउन खोजिएकाले सोही अनुसार बुझ्न आग्रह गरेका थिए । सैद्धान्तिक छलफलपछि सञ्चार तथा सुचना प्रविधिमन्त्री बास्कोटाले पेस गरेको ‘सूचना प्रविधिसम्बन्धि विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको छ ।