काठमाडौं – पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा‘’ बोलको गीत युट्युबबाट हटाइएपछि अहिले तीव्र रूपमा सरकारप्रति जनताको आक्रोश बढेको छ । जनता गायकसँग दुई तिहाइ बहुमतको सरकार डराएको भन्ने निष्कर्षमा पुगेका छन् । यही क्रममा नेपाल वायुसेवा निगमका प्रवक्ता एव्म क्याप्टेन विजय लामाले पशुपति शर्माको समर्थन गर्दै सरकारको विरोध गरेका छन् ।

लामा वरिष्ठ कलाकार तथा गायकका रुपमा समेत स्थापित छन् । लामाले सामाजिक संजाल मार्फत सरकारको विरोध जनाउदै प्रश्न गरेका छन् पञ्चायतकालमा जस्तै अब नेपाली जनता सरकारसँग पनि डराएर बस्नुपर्ने दिन आएकै हो त ? लामालाई पनि गायक शर्माको गीत बन्देज गर्न दबाब दिन लगाइएकोमा चित्त बुझेको छैन ।
क्याप्टेन लामाले लेखेका छन्
सरकार भनेको जनताको आश, विश्वास कि त्रास ? लौन कोही छ यसो बुझाउनलाई ? बुझ्न्नै गाह्रो भयो हामी जस्ता सामान्य जनतालाई ! अब त गुन्डा, दादा अनि राजनीति दलहरूका दलाल र पाल्तुहरूसँग मात्रै डराउने समय त सक्किएछ ! झन् त्यसमाथि सरकार र सरकारी निकायसँग जोडेकासँगहरूसँग डराएर बस्ने समय पो आयो त ! प्रजातन्त्र, गणतन्त्र भनेको यस्तो पो हुँदो रहेछ !!! हरेक कुरामा बन्देज ? बल्ल सिक्न थालिँदै छ‘।। पञ्चायतको समय पनि यस्तै थियो र ? कि कसो हो ?
