२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेविसङ्घको तदर्थ कार्यसमिति बनाउने तयारी

1244 Shares
Spread the love

काठमाडौ । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ ।

notwext

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।

यस परिस्थितिमा सङ्घको कार्यसमिति सम्बन्धमा यथावत अवस्थामै समावधि बढाउने वा अर्को समिति बनाउने बारेमा छलफल जारी रहेको जानकारी गराउँदै प्रवक्ता शर्माले भने, ‘यस सम्बन्धमा शुक्रबारसम्म टुङ्गो लाग्न सक्छ ।’

उनले काङ्ग्रेस बैठकमा अधिकांश सदस्यले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । सो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने उनको तर्क छ ।

त्यस्तै काङ्ग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

यसमा पनि पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता शर्माले जानकारी गराए । बैठकमा यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको छ । (रासस)

प्रतिक्रिया