काठमाडौं । शिक्षित होस् वा सामान्य लेखपढ गरेका नै किन नहोस्, सबै मानिस रोजगारीको खोजीमा नै रहेका हुन्छन् । कोही रोजगारीको क्षेत्र र विधा परिवर्तनका लागि अर्को रोजगारी खोजिरहेका हुन्छन् त कोही पेशा परिवर्तन गर्न जागीरको खोजीमा हुन्छन् ।
भर्खरै पढाइ सकेकाहरू भने आफ्नो करीअर बनाउन जागीरको खोजी गरिरहेका हुन्छन् । तर, जागीर पाउन भने त्यति सजिलो छैन ।
चिनजानको मान्छै छैन र केही भनसुन गर्न सकिएन भने योग्यताले पनि काम नदिएको अनुभव र गुनासो धेरै बेरोजगारको हुने गर्दछ ।
रोजगारदाता भने आफूले खोजेको जस्तो मान्छे नपाएर हैरान छन्, जसले गर्दा कामचलाउको रूपमा योग्यता र शीप नभएपछि काम लगाउन रोजगारदाता बाध्य छन् ।
रोजगारदाता भन्छन्, ‘सबै युवा र योग्यता भएका जति विदेश गइहाले यहाँ मान्छे पाउन नै गाह्रो भइसक्यो ।’ रोजगारको खोजीमा रहेकाहरूतर्क भने अर्कै छ । उनीहरू भन्छन्, ‘यहाँ काम पाउन गाह्रो छ । सोर्सफोर्स नलगाईकन केही हुँदैन । अनि विदेश नगई सुखै हुँदैन ।’
रोजगारदाताले कामदार नपाएको र बेरोजगारले काम नपाएको परिवेशमा सामाजिक सञ्जाल, रोजगार पोर्टल, अनलाइन, वेबसाइटलगायतको सहायता लिनु बुद्धिमानी हुन्छ । यसले गर्दा बेरोजगारले रोजगार पाउँछन् भने रोजगारदातालाई योग्य व्यक्ति पाउन सजिलो हुन्छ ।
अहिले विभिन्न रोजगार पोर्टल र फेसबूक समूह बनेका छन् । यिनीहरूमा पहिले नै आफ्नो व्यक्तिगत विवरण दिइराखेको खण्डमा रोजगारदाताले सजिलै कामदाररकर्मचारी पाउँछन् । यसैगरी रोजगारदाताले पनि आवश्यक कर्मचारीको आह्वान यसैमार्फत गरिने भएकाले सहज हुन्छ ।
अहिले पनि धेरै जसो बेरोजगार पत्रपत्रिकामा भर पर्ने गरेको पाइन्छ । रोजगारदाताले पत्रपत्रिकाका अलावा वेबसाइट र रोजगार पोर्टलमा सूचना दिने गर्दछ । इण्टरनेटको विकाससँगै रोजगारीसम्बन्धी अपडेट दिने वेबसाइट सञ्चालनमा आइरहेका छन् ।
त्यसमा अधिकांश कम्पनीले रोजगारीका लागि आवश्यक जानकारी र आवेदन दिने प्रक्रियाबारे पनि उल्लेख गरेको हुन्छ । नेपालमा मेरो जब डट कम, जब्स नेपाल डट कम, राम्रो जब्स डटकम, मेरो रोजगारी डटकम, जागीरे डटकमलगायत वेबसाइट रोजगार खुलेका छन् ।
अवसर खोज्नेले यीलगायत साइटलाई निरन्तर रूपमा हेरिहनुपर्छ । साथै, विभिन्न पत्रपत्रिकाले पनि यसबारे सूचना प्रकाशित गरिरहेका हुन्छन् ।
जागीरको खोजीमा रहेकाहरूले वेबसाइट र पत्रपत्रिकाका अलावा आफन्त र साथीभाइलाई पनि अप्ठ्यारो नमानीकन खबर गर्ने बानी गर्नुपर्दछ । कतिपय संस्थाले विज्ञापन प्रकाशित नगरीकन भित्रभित्रै मान्छे खोजेर पूर्ति गरिरहेका हुन्छन् ।
रुचि र क्षमतालाई दृष्टिगत गर्दै सोही क्षेत्रमा काम गर्नेहरूको सम्पर्कमा रहिरहनुपर्छ । साथै, सामाजिक सञ्जालहरू फेसबूक, ट्वीटर, लिङ्कडइन जस्ता साइटमा पनि आफूलाई सक्रिय बनाउनु आवश्यक हुन्छ ।
अवसरको खोजीमा रहेकाले आफू कुन क्षेत्रमा काम गर्ने निर्धारण भइसकेपछि सोही प्रकारको काम गर्दै आएको संस्थाको वेबसाइट हेर्दै गर्नुपर्छ ।
त्यहाँ कम्पनीलाई आवश्यक परेको कर्मचारीको बारेमा जानकारी प्रस्तुत गरिएको हुन्छ । प्रायः आफ्नो साइट अपडेट गरिरहने कम्पनीहरूले आवश्यकताको बारेमा जानकारी दिने गर्छन् ।
Read more at http://darpansansar.com/article/-468#uyZLbKzZYVzZLrYI.99