२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भत्ता पाउनकै लागि सन्तान जन्माउने गाँउ

1236 Shares
Spread the love

काशीराम शर्मा

बाँके। यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् ।

सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ ।

ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनले काखमा छोरालाई च्यापिरहेकि थिइन् । “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उनले भनिन्, “हजुर मेरो छोराको राम्रो नाम राखिदिनुस् न ।”

हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्माइसकेकिछन् । उनलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन ।

उनले भनिन्, “खै उमेर त्यस्तै ३० वर्ष कटेजस्तो लाग्छ, मलाई त उमेर पनि थाहा छैन ।” यस्तै छ सन्तानकी आमा गीता कुचबधियाले भनिन्, “अब बच्चा जन्माउदिन, पाँच वर्षे औषधि नरप्लान्ट राखेकी छु ।” इन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् ।

ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताइन्। लैँगीका पनि सात सन्तान छन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उनी पैसावाला गनिन्छन् उनका पाँच छोरी र दुई छोरा छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्छन ।

बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताए । “अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ”, उनले भनिन् । इन्द्रपुर, फुल्टेक्रा र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच÷छ वर्षमै टीकाटालो गर्ने र १२÷१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।

घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नामसमरियाले भनिन, “दुई÷तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।” कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताइन् ।

सो समुदायमा अहिलेसम्म एकजना रेखा कुचबधियाले मात्रै अस्पतालमा बच्चा जन्माएका छन् । उनले भनिन्, “तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगि शल्यक्रिया गरेर बच्चा जन्मियो ।”

उनको अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । “अस्पतालमा जन्मिने शौभाग्य पाएको भन्दै छोराको नाम सूर्या राखियो”, रेखाले भनिन् । कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ ।

नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमान्लाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।

प्रतिक्रिया