
दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ढुक्क भएर बस्न सकिने अवस्था नरहेको’ भन्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सार्वजनिक कार्यक्रममै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन्।
हजारौँ जनाको ज्यान गएको एक दशक लामो सशस्त्र द्वन्द्व हुँदै नेपालको मूलधारको राजनीतिमा स्थापित भएका यी पूर्वमाओवादी नेता बुटवलमा आइतवार आयोजित एउटा कार्यक्रममा पनि उद्विग्न देखिए।
पूर्वराजाप्रति लक्ष्य गर्दै उनले भने, “पूर्वशासकहरू कुनै न कुनै रूपले जनतालाई कमजोर पार्ने, उक्साउने र आफ्नो गुमेको शासन पुनर्स्थापित गर्न निरन्तर अभ्यासमा लागेका छन्।”
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा सो दलभित्र रहेका केही नेताहरूले हिन्दूराष्ट्र पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सङ्कलन गरेका थिए। सो विषयमा कांग्रेसले अनौपचारिक छलफल गर्न थालेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत फागुन पहिलो हप्तादेखि हिन्दूराष्ट्र पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाएर देशव्यापी ‘जनसङ्घर्ष’ आरम्भ गर्ने बताएको छ।
यिनै घटनाक्रमबीच प्रचण्डको आक्रोश राजाप्रति बढेको देखिन्छ। उनले कांग्रेस र राप्रपाको पनि कटु आलोचना गरेका छन्।
प्रतिक्रिया आवश्यक छ?
बुटवलमा उनले राजनीतिक नेतृत्वले दृढ कदम चाल्न नसक्दा बिस्तारै पुराना र नयाँ विचारको द्वन्द्व हुनसक्ने जोखिम देखिएको बताएका थिए।
उनको संशय थियो, “पुरानो शक्ति हावी हुने खतरा देखिँदै आएको छ।”
जनतालाई सचेत र स्पष्ट पारिएन भने परिणाम ‘घातक’ हुनसक्ने चेतावनी उनले दिँदै आएका छन्।
काठमाण्डूमा जाडो बढ्दै गर्दाको मङ्सिरको एक साँझ पूर्वराजा ज्ञानेन्द्र एउटा रेस्टुराँमा आफ्ना नातेदार राजीव शाहको जन्मदिन मनाउन पुगेको थिए। त्यहाँ उनी नाच्दै गरेको तस्बिर सार्वजनिक भएको थियो।
ज्ञानेन्द्रले त्यहाँ कुनै राजनीतिक अभिव्यक्ति दिएका थिएनन्।
तर त्यसको केही दिनपछि कास्कीको सिक्लेस पुगेका प्रचण्डले मुख थाम्न सकेनन्।
उनले भनेका थिए, “निरङ्कुश शासकहरूलाई बिर्सेका छैनौँ। अहिले उनीहरू नाच्दै हिँडेका छन् रे होटल होटलमा! केका लागि नाचेका हुन्?”
राप्रपाका अध्यक्ष कमल थापाले धनगढी पुगेर प्रचण्डलाई जवाफ फर्काए, “राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?”
कतै प्रचण्ड आवश्यकता भन्दा बढी नै राजासँग त्रस्त भएका त होइनन्?
राजनीतिशास्त्री कृष्ण पोखरेलका विचारमा यी सबै ‘त्रास’ जडित अभिव्यक्तिको जड सरकारले आफूले सोचेजसरी दिन नसकिरहेको परिणामसँग जोडिएको छ।
“जनता बहकिने जोखिम त सधैँ हुन्छ। ठूलै अस्थिरताको अवस्थामा मात्र पूर्वराजाहरू फर्कन सक्ने जोखिम हुन्छ।”
तर बाह्य शक्तिको संलग्नताविना आन्तरिक रूपमा त्यस्तो अवस्था उत्पन्न नहुने पोखरेलको धारणा रहेको छ।
बिबिसी नेपालीबाट