
काठमाडौँ । मान्छे बेपत्ता पारेको मुद्दामा अनुसन्धान प्रक्रिया सकिएपछि ‘लिटल बुद्ध’ नामले चिनिएका रामबहादुर बमजनमाथि आवश्यक कारबाही अघि बढाइने सिन्धुपाल्चोक प्रहरीले बताएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, ‘बमजनलाई अहिले नै पक्राउ गर्नेभन्दा पनि अनुसन्धान प्रक्रियापछि हामी आवश्यक कारबाही चाल्छौँ।’
प्रहरी उपरीक्षक मरासिनीका अनुसार सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बमजनको आश्रममा ‘कुनै अस्वाभाविक घटना’ भएको टुङ्गोमा प्रहरी पुगेको छ।
उनले भने, ‘अनुसन्धानको कारणले यो चिज भेटियो भनेर भनिहाल्न नमिल्ला, तर त्यो आश्रमभित्र केही अप्राकृतिक घटना तथा गतिविधि भएको कुरामा हामी तथ्यमा पुगेका छौँ। त्यहाँ नहुनुपर्ने गतिविधि भएका देखिएका छन्।’
किटानी जाहेरी
त्यही आधारमा थप अनुसन्धान भइरहेको उनले बताए। तर भएको भनिएको घटना हुने लामो समय भइसकेकोले सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्ने र अनुसन्धान लामो हुने उनले आकलन गरेका छन्।
जिल्ला प्रहरी कार्यालयमा बमजनको आश्रमबाट सञ्चलाल वाइबा हराएको भन्ने जाहेरी परेको मरासिनीको भनाइ छ।
२०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान शुरू गरेको हो। प्रहरीले दुई दिन अगाडि बमजनको आश्रममा छापा मारी नुनका पोका र कोइलाको नमूना सङ्कलन गरेको बताइएको छ।
किटानी जाहेरी दिएका वाइबाका छोरा महेन्द्रले भने, ‘बुवा आश्रम जानुभएको थियो, त्यहाँ सोधपुछ गर्दा आनीहरूले उहाँ आश्रममा नभइ बाहिर कतै गएको भनेपछि गुरुका सेनाहरूलाई बुवाका बारेमा सोधिदिन प्रहरीलाई जाहेरी दिएका हौँ।’
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले थप सहयोग मागेको खण्डमा आफूहरूले सहयोग गर्ने बताए।
उनले भने, ‘अहिले सबै काम जिल्ला प्रहरी कार्यालयले गरिरहेको छ। अनुसन्धानका लागि थप सहयोग चाहिए हामी उपलब्ध गराउँछौँ।’
बमजनको आश्रमले भने ती सबै आरोपहरू अस्वीकार गर्दै आएको छ। (बीबीसी नेपालीबाट)