एजेन्सी– मलेशियाका राजा सुल्तान मुहम्मद पाँचौंले आइतबार अप्रत्यासित रुपमा गद्दी त्याग गरेका छन् । उनी दुई वर्ष अघिमात्र राजा चुनिएका थिए । त्यहाँको राजदरवारले जारी गरेको एक वक्तव्यमा ४९ वर्षे मुहम्मद पाचौंले तत्कालबाट लागु हुने गरि मलेशियाको १५ औं राजाबाट राजीनामा दिएको भनिएको छ । वक्तव्यमा राजाले राजिनामा दिनुको कुनै कारण भने उल्लेख छैन ।
मलेशियाको इतिहासमा पहिलो पटक राजाले गद्दीत्याग गरेका हुन् । सुल्तान मुहम्मद पाचौं मलेशियाको केलान्तान राज्यका शासक हुन् । सन् २०१६ डिसेम्बरमा राजाको रुपमा सपथ लिदाँ, उनी देशको इतिहासको सबैभन्दा कम उमेरका राजा भएका थिए ।
अक्सफोर्डमा पढेका राजाले नोभेम्बरमा दुई महिनाको बिदा लिएका थिए । उनी जनवरी १ मा फर्किने भनिएको थियो, तर अघिल्लो हप्ता उनको फिर्तिलाई लिएर बाहिर बिभिन्न शंका उपशंका थियो ।
शुक्रबार भएको एक पत्रकार सम्मेलनमा देशका प्रधानमन्त्री महाथिर मोहम्मदले आफूलाई सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा आफूले ‘राजाको बारेमा विभिन्न हल्ला सुनेको भए पनि उनको अवस्थाबारे कुनै जानकारी नभएको’ बताएका थिए ।
मुहम्मद पाँचौंले विदा लिनुमा चिकित्सकीय कारण बताएका थिए । विदेशी मिडियाहरुले बिदामा रहँदा उनको एक रुसी युवतीसँग विवाह भएको रिपोर्ट दिएका थिए । सुन्दरी प्रतियोगिता विजेता भनिएकी युवतीसँगको विवाहबारेमा न राजा न त राजदरबारले पुष्टि गरेको छ ।
विदेशी मिडियाले उनको विवाह भएकी युवतीको नाम ओक्साना भोइभोडिनास बताएका छन् । केहीले उनको गद्दी त्यागको कारण यही विवाह भएको बताएका छन् । तर आधिकारिक रुपमा कसैले यसको पुष्टि गरेका छैनन् ।
केहीले भने राजतन्त्रप्रतिको महाथिर मोहम्मदको विगतको सम्बन्धप्रति पनि प्रश्न गरेका छन् । सन् १९८१ देखि २००३ बीचको पहिलो प्रधानमन्त्रीकालमा महाथिरले संविधान संशोधन गरेर राजाका केही अधिकार कटौती गरेका थिए । साथै उनले संशोधनका क्रममा पहिले राजाहरुलाई आपराधिक कसुरमा दिइदैं आएको छुट पनि हटाएका थिए ।
वर्तमान कार्यकालमा महाथिर र मलेय शासकहरुबीचको सम्बन्ध सकारात्मक रहेको बताइन्छ । मलेशिया १३ राज्यको संघीय इकाई हो, जसमध्ये ९ राज्यहरुमा अहिले पनि शाही परिवार रहेका छन् । इतिहासमा मलेशियाको संघमा मिसिन तयार भएवापत ती शाही परिवारलाई संविधानमै स्थान दिइएको छ ।
मलेशियामा ती ९ मध्ये शाही परिवारबाट चक्रिय रुपमा प्रत्येक पाँचमा नयाँ राजा छानिन्छन् । राजा छान्ने काम ‘कन्फेरेन्स अफ रुलर्स’ ले गर्छ । सन् १९५७ मा मलेशियाली प्रायद्विप ब्रिटिशको शासनबाट स्वतन्त्र भएपछि नै यो अनौठो व्यवस्था लागू गरिएको हो । ‘कन्फेरेन्स अफ रुलर्स’ मा उलेख्खित ९ राज्यका राजाहरु र बाँकी ४ राज्यका गर्भनर सदस्य हुन्छन् ।
यही बुधबार ‘कन्फेरेन्स अफ रुलर्स’ बोलाइएको छ । चक्रिय व्यवस्था अनुसार त्यहाँ अब राजा हुने पालो पेहाङ राज्यको राजाको पालो छ, तथापि ‘कन्फेरेन्स अफ रुलर्स’ सँग उत्तराधिकारीहरुको क्रमलाई बदल्ने अधिकार पनि हुन्छ ।
मलेशियामा राजतन्त्रको भूमिका धेरै हदसम्म आलकांरिक छ । त्यहाँ प्रशासनिक शक्ति प्रधानमन्त्री र संसदमा निहित हुन्छ । तर मलेशियाको बहुसंख्यक मलेय मुसलमान समुदायमाझ मलेय संस्कृतिको रक्षकको रुपमा राजाहरुको उच्च सम्मान रहेको छ ।