
२३ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । अस्ट्रेलियाको बिग बासमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आइतबार बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा पनि २ विकेट लिएपछि प्रधानमन्त्री ओलीले सन्दीपलाई शुभकामनासहित बधाइ दिएका हुन् ।
‘सन्दीपको सफलताले उचाइ लिँदा हामी गर्व महसुस गर्छौंं,’ प्रधानमन्त्री ओलीले ‘हेराल्ड सन’सँग भनेका छन्, ‘यो उनको मेहनत, प्रतिबद्धता र कठिन परिश्रमले पाएको सफलता हो । सन्दीपको सफलताले नेपाली युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’
बिग बास लिगको ४ खेलमा ८ विकेट लिएका १८ वर्षे सन्दीपले हासिल गरेको सफलताबाट नेपाली क्रिकेट टिमलाई पनि सहयोग मिल्ने प्रधानमन्त्रीले आश गरेका छन् । उनले भनेका छन्, ‘हिमाली देशको क्रिकेट टिमका लागि सन्दीप आशाका किरण हुन् । उनको खेल मैले पनि हेरिरहेको छु । गत मेमा लर्डसमा सम्पन्न खेलमा विश्व–११ टिमका लागि छनोट हुँदा पनि मैले खुसी व्यक्त गरेको थिएँ । उनी नयाँ पुस्ताका लागि प्रेरणाका श्रोत हुन् । उनको सफलता नेपाली टोलीको सफलतालाई पनि सहयोग पुग्ने विश्वास छ ।’