कुनै समय नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका निरुता सिंहको नाम आज पनि कुनै दर्शकहरुले बिर्सिएका छैनन् । सुन्दर मुहार , जिवन्त अभिनय ,मिठो स्वर नाच्न खप्पिस यीनले लामो समय नेपाली सिनेमा क्षेत्रमा राज गरिन् । अरु नायिकाहरु ग्लामरस देखिएर दर्शकहरुको मन लुट्थे तर निरुता एक मात्र यस्ती नायिका थिईन् जसले रुवाएर दर्शकहरुको मन जितेकी थिईन् । कुनै समय थियो उनी रुँदा दर्शक रुन्थे , दर्शक रोएपछि निर्माताहरु हाँस्थे । आफनो करियर अवधीभर उनले रोएरै दर्शकको साथ पाएकी थिईन् । उनले त्यतीबेला पनि करिश्मा मानन्धर , जल शाह , झरना थापा , रेखा थापा लगायतका चर्चित नायिकाहरुलाई कडा टक्कर दिएकी थिईन् ।
उनको जोडी सिनेमा क्षेत्रमा राजेश हमाल र श्रीकृष्ण श्रेष्ठसंग निकै रुचाईएको थियो । ६२ ६३ को जनआन्दोलनसंगै खस्किएको बजार र जो पनि निर्माता निर्देशक बन्ने परिपाटी बनेसंगै उनी यस क्षेत्रसंग निरास हुँदै गईन् । सिनेमा क्षेत्रमा नायिकाहरुलाई च्याप्न पाईन्छ भन्ने सोच बुनेर आएका निर्माताहरुको कारण उनले नेपाल छोड्न बाध्य भएको बताउँछिन् । कलाको पवित्र स्थानलाई फोहोर बनाउँने सोच लिएर आएका निर्माताहरुको कारण नै आफुले काम गर्न नसकेको उनको भनाई छ । उनी भन्छिन् “निर्माताहरु हिरोईन च्याप्न पाईन्छ भन्ने सोच बनाएर आउँनु भयो । उहाँहरुको सोच नै नराम्रो थियो त्यसैले मैले काम गर्नै सकिन्” ।
अन्तत उनी मुम्बई भाँसिईन् । त्यहाँ पनि उनले अभिनयका लागि कोसिस गरेकी होईनन् तर बलिउडमा काम पाउँन सहज कहाँ छ र ?
यतिबेला पनि मुम्बईमा कार्यरत निरुता यतिबेला मह संचारको फिल्म दाल भात तरकारीमा व्यस्त रहेकीछिन् । एक अवार्ड कार्यक्रमका लागि ५ बर्षपछि नेपाल आएकी उनले त्यसबीच नाई नभन्नू ल ५ मा सानो रोलमा काम गरिन तर दर्शकहरुले उनलाई धेरै समय पर्दामा हेर्न चाहेको इच्क्षा भने पूर्ती भएन । त्यसपछि उनलाई दाल भात तरकारी र लभस्टेशन अफर भयो । उनले दुबै फिल्ममा ओके भनिन् । तर बुवा बिरामी परेपछि उनले लभस्टेशन छोड्न बाध्य भईन् । पर्दामा सधै दर्शकलाई रुवाउँने निरुता दाल भात तरकारीमा भिन्न अवतारमा देखिँदैछिन् । यही फिल्मलाई आफनो कमव्याक मान्ने निरुता भन्छिन् सधै रुवाउँने मैले यस पटक दर्शकलाई पेट मिचिमिचि हसाउँनेछु ।
“भारतीय , धोती भन्दा चित्त दुख्छ” :-निरुता
उनी नेपाली सिनेमा क्षेत्रमा चर्चित नायिका भएतापनि उनी नेपाली भाषी भारतीय नागरिक हुन् त्यसैले पनि उनलाई भारतीय हुन नेपाली होईनन् भनेर पनि कमेण्ट गरिन्थ्यो ।उनले एक अन्तरवार्तामा भनेकी थिईन् “जन्म भुमि जति प्यारो हुन्छ त्यती नै कर्म दिने भुमि पनि प्यारो हुन्छ । आज म निरुता सिंह भएर जति माया सम्मान पाएको छु त्यो सबै नेपालबाट नै पाएको हुँ । तर कहिलेकाही निरुता सिंह भारतीय हो धोती हो भन्दा मन दुख्छ” ।
भारतमा जन्मिनु आफनो च्वाईस नभएको भन्दै आफनो पुर्खाहरु पनि नेपाली नै भएकोले आफुहरु नेपालसंगको भावनात्मकरुपले निकै नजिक रहेको बताईन् । उनी भनेकी थिईन् “नेपालसंगको मेरो लगाब हिजो पनि थियो आज पनि छ र सधै रहनेछ” ।