
पुष २१ -एक वर्षअघि वसन्ता जैविकमार्गमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट बयस्क बाघ आयो । तीन/चार महिना त्यतै बस्यो । त्यहाँबाट केही दिन चुरे फेदीतर्फ देखियो । धनगढीको माथिल्लो भेगबाट अहिले त्यो बाघ कता गयो अत्तोपत्तो छैन ।अघिल्लो वर्षको बाघ गणनामा लालझाडी मोहना संरक्षित क्षेत्रमा एक बयस्क बाघ देखियो । संरक्षित क्षेत्रमा बाघ देखिएपछि संरक्षणकर्मी उत्साहित भए । तर यस वर्ष गरिएको गणनामा देखिएन ।
यी दुई उदाहरणले बाघको बासस्थान खल्बलिँदै गएको प्रष्ट हुन्छ । दुधुवा निकुञ्जबाट आएको बाघ केही महिना वसन्तामा बसेर पनि अन्यत्र लाग्नुको कारण उचित बासस्थान अभाव हुनु हो । ‘वसन्तामा राम्रो वासस्थान भएको भए त्यो बाघ बसिरहन्थ्यो होला,’ पश्चिम तराई भूपरिधि कार्यक्रमका गौतम पौडेलले भने, ‘बासस्थान खोज्दै भौतारिनु पर्दैनथ्यो ।’
गौतमका अनुसार जैविकमार्ग तथा संरक्षित क्षेत्रमा निरन्तर अतिक्रमण र वन क्षेत्रको बिग्रँदो अवस्थाका कारण वन्यजन्तुको बासस्थान खल्बलिएको हो । संरक्षित क्षेत्रको किनारमा बाक्लो बस्ती तथा विभिन्न आयोजनाका कारण समस्या निम्त्याएको छ । कान्तिपुरमा खबर छ ।