२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पूर्वएआइजी भट्टराईले ७० लाख भ्रष्टाचार गरेको ठहर : नौ महिना जेल

1315 Shares
Spread the love

काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ।

भट्टराईलाई नौ महिना जेल सजायसमेत तोकिएको छ। विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो। भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईको सम्पत्तिको स्रोत पुष्टी नभएको दाबीसहित २०७३ मंसिरमा अकुतसम्बन्धी मुद्दा दायर गरेको थियो।

अख्तियारले भट्टराईको कुल तीन करोड १७ लाख ६७ हजार एक सय ३७ रुपैयाँ बराबरको सम्पत्ति मूल्यांकन गरेको थियो। सम्पत्तिमध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको वैध स्रोत पुष्टी नभएको दाबी अख्तियारको थियो।

विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले अदालतबाट भट्टराईको ६९ लाख ८७ हजार दुई सय २५ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको ठहर भएको जानकारी दिए।

‘उक्त मुद्दामा प्रतिवादीलाई नौ महिना कैद, भ्रष्टाचार ठहर भए बमोजिम बिगो अनुरुपको जरिबाना र सोही बराबरको सम्पत्तिसमेत जफत हुने फैसला भएको छ,’ रजिष्ट्रार श्रेष्ठले अन्नपूर्णसँग भने।

प्रतिक्रिया