काठमाडौं । धादिङको गजुरी बजारबाट मुग्लिनतर्फ गइरहेको भारतीय नम्बर प्लेट नं एचआर ३८ एस ९३७१ को कन्टेनर ट्रकबाट २३५ किलो चरेस सहित २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सतेन्द्र सिंह वेघल र लाल महम्मद गद्धी रहेका छन् । चरेस सहित पक्राउ परेका ३० वर्षीय सतेन्द्र सिंह वेघल भारतीय नागरीक हुन् । ट्रक चालक समेत रहेका सतेन्द्र सिंह भारत उत्तर प्रदेश, एटा निघौली खुर्द चितापुर ग्राम सिकोहावाद रोडका रहेका छन् ।
पक्राउ पर्ने अर्का ५० वर्षीय लाल महम्मद गद्धी पर्सा जिल्ला सोन बर्षा गाउँपालिका वडा नं ५ घरभइ हाल पटेर्वा सुगौली गाउँपालिका बस्दै आएका थिए । उनीहरुलाई धादिङ जिल्लामा लागू औषध चरेसको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव उपरीक्षक दिनेश अमात्यको कमाण्डमा खटिएको टोलीले शंकास्पद स्थान, सवारी साधन तथा शंकित व्यक्तिको खोजतलास गर्ने क्रममा बिहीबार बिहान ३ बजे पक्राउ गरेको लागु औषध नियन्त्रण व्युरोले जनाएको छ ।
.jpg)
चरेस भेटिएको ट्रक सहित निजहरुलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा बुझाइएको प्रहरी नायव उपरीक्षक दिनेश अमात्यले बताए । उनीहरुको बारेमा थप अनुसन्धान समेत भइरहेको व्युरोले जानकारी दिएको छ । पक्राउ परेका लाल मोहम्मद गद्धी अवैध लागू औषध ओसारपसार कार्यमा लामो समय देखि संलग्न रहिआएको र विगतमा लागू औषध (चरेस ) मुद्धामा भारतीय जेलमा ३ वर्ष ६ महिना कैद सजाय समेत पाएको व्युरोले जनाएको छ ।
गद्धी लामो समय देखि ट्रक चलाउने बहानामा चरेसको ओसार पसारमा संलग्न हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद गरेको लागू औषध(चरेस) को अबैध बजार मूल्य भने ५० लाख हुन आउने ब्युरोले जानकारी दिएको छ । व्युरोका प्रहरी नायब उपरीक्षक दिनेश अमात्यले नेपालमा चरेस ओसारपसार बढ्दै गइरहेको बताए ।
.jpg)
प्रहरी नायव उपरीक्षक अमात्यले भने, ‘नेपालमा सडकबालबालिकाहरुले सेन्थेटिक लागू औषध बढी प्रयोग गर्छन् ।’ सेन्थेटिक लागू औषध २ देखि ३ सय मूल्य सम्ममा बजारमा पाइने हुँदा यस्ता किसिमका लागू औषध सडक बालबालिकाले बढी प्रयोग गर्ने उनको भनाई छ ।
यतिबेला गाँजाको चोपबाट चरेस अबैध रुपमा बनाउँने र भारत हुँदै विभिन्न मुलुकमा चरेस पुर्याउने गरेको पाइएको व्युरोले जनाएको छ । प्रहरीले लागु औषध ओसार पसारमा संलग्न व्यक्तिहरुलाई खोजतलास गरि पक्राउ र कारबाही समेत गर्दै आएको छ ।