हत्या मुद्दामा जेल सजाय भोगिरहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीको सपथको समय सरेको छ।
यसअघि उनलाई बिहीबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सपथ ग्रहण गराउने भनिएको थियो।
तर सांसद चौधरीलाई केन्द्रीय कारागारबाट ल्याउन ढिला भएकाले तथा सभामुख महरा संसद बैठकमा १२ बजे पुग्नुपर्ने भएकाले सपथ ग्रहणको कार्यक्रम दिउँसो ३ बजेलाई सारिएको सभामुखका प्रेम सल्लाहकार डिल्ली मल्लले नेपालखबरलाई जानकारी दिए।
चौधरीले सपथ लिने खबर सार्वजनिक भएपछि उनकी पत्नी रञ्जिता श्रेष्ठ फूलमाला लिएर डिल्लीबजार कारागार पुगेकी थिइन्।
राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर लगायतका नेताहरु सपथका लागि सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका थिए।
तर सपथ दिउँसाेका लागि सरेपछि उनीहरु संसद भवन बानेश्वर गएका छन्।
कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित सात प्रहरीको हत्या भएको थियो।
घटना भएको ३० महिनापछि फागुन १४ गते उनी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए।
उक्त घटनाको मुख्य अभियुक्त मानिएका चौधरी हाल केन्द्रीय कारागारमा छन्।