२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

नेपालसँग कामदार माग्दै जापानले पठायो औपचारिक प्रस्ताव, एक महिनाभित्रै सम्झौता

1476 Shares

काठमाडौं – जापानले नेपालसहित ९ अन्य देशबाट पनि कामदार लैजान सकिने जनाएको एक सातापछि नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको छ । एक साताअघि बसेको जापानको मन्त्रिपरिषद् बैठकले चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय गरेको ‘जापानटाइम्स’ले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्ति गर्ने प्रस्तावको ड्राफ्ट पठाएको हो । ‘उक्त प्रस्ताव हाल छलफलको क्रममा छ, हामीले आवश्यक निर्णय लिएर मात्र त्यसको जवाफ पठाउनेछौं,’ दाहाल भन्छन्, ‘यसबाट जापानले नेपाली कामदार लिन इच्छुक रहेको प्रमाणित भएको छ र यसका लागि छिटो भन्दा छिटो मापदण्ड तोकेर काम गर्नेछौं ।’

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर कामदार जापान पठाउने दाहालले बताए । त्यसका लागि जनवरीको अन्तिमतिर जापानको टोली नेपाल आउने र महत्त्वपूर्ण सम्झौता हुन सक्ने दाहालको भनाइ छ । ‘यो रातारात हुने काम होइन, केही समय लाग्छ,’ दाहालले भने, ‘हामीले आफ्नो तर्फबाट गृहकार्य गरेपछि मात्र औपचारिक जानकारी गराउनेछौं ।’

जापानको नाम लिएर दलालहरू सक्रिय भइसकेको र औपचारिक सम्झौता नभएसम्म र सरकारले सूचना जारी नगरेसम्म जापानको प्रलोभनमा परेर आर्थिक कारोबार गर्न नहुने दाहालले जानकारी दिए ।

जापानले लामो समयदेखि विदेशबाट श्रमिक लिने तयारी गरिरहेको थियो । विदेशी श्रमिक आपूर्ति गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत् बारम्बार छलफल भएको थियो ।

विदेशी कामदार सहज रूपमा भित्र्याउनका लागि जापानले गत नोभेम्बर २ मा नयाँ कानून ल्याएको थियो । सोही कानूनलाई पूर्णता दिन एकसाता अघि बसेको जापानको मन्त्रिपरिषद् बैठकले कामदार आपूर्तिसम्बन्धी नयाँ नीति पास गरेको हो ।

जापानले आगामी ५ वर्षभित्र साढे ३ लाख विदेशी कामदार भित्र्याउने योजना बनाएको छ ।

प्रतिक्रिया