काठमाण्डौं, १७ पुष । छोरा नै मेरो बाँच्ने सहारा हो । अहिले यहि छोरा अस्वस्थ्य छ । छोराको स्वास्थ्य जीवनको लागि मेरो शरिरको जुन अंग बेच्नु परेपनि म बेच्न तयार छु । आफ्नो इज्जत बेच्नु भएन तर छोराको जीवन बचाउन जस्तो सुकै काम गर्न र आफुसंग भएको जे पनि बेच्न तयार
छु ।
यो एउटा आमाको पीडा हो । रविना बादी जो एउटा छोरासंग एक्लै छन् । पारिवारीक बिचलन पछि एक्लिएकी रविनाको बाँच्ने आधार भनेको यहि एक वर्षको छोरा हो । तर केही दिन अघि मात्र छोराको एक वर्षको जन्मदिन मनाएकी रविना अहिले उही छोरालाई लिएर उपचारका लागि भारत लागेकी छन् । उनले मानव सेवा आश्रममा रहेका वृद्धवृद्धालाई भोजन गराएर छोराको जन्मदिन मनाएकी थिइन् ।
उनको छोरालाई ब्लड क्यान्सर लागेको आशंका छ । उनले रोगको पहिचान र उपचारका लागि भन्दै भारत लागेको बताएकी छन् । छोरालाई लिएर भारत जानुअघि उनले मिडियालाई छोरा बिरामी भएको बताइन् । उनले छोरालाई सामाजि उत्तरदायीत्व बहन गरोस् भनेर मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएको बताएकी छन् । यस अघि भारत जांदा छोराको स्वास्थ्य परिक्षण गरिएको र उनको रिपोर्ट बाहिरी मुलुकवाट फरेन्सी रिपोर्ट आएका कारण उनी उपचार गर्न भारत जान लागेको बताएकी छन् ।
उनले छोराको मुख र नाकवाट रगत बग्ने गरेको बताएकी छन् । उनले छोराको उपचारका लागि १८ लाख रुपैया लाग्ने चिकित्सकले बताएको जानकारी दिएकी छन् । आफुले जसलाई किड्नी बेचेकी छन् सोही परिवारले छोराको उपचारका लागि आर्थिक सहयोग गरेको बताइन् । उनीहरुले छोराको उपचारका लागि अहिले सम्म आधा पैसा जम्मा गरिसकेको बताइन् । चिकित्सकले छोरा निको हुने विश्वास दिलाएका कारण आफुले पनि छोरा बाच्ने आशा गरेको बताएकी छन् । उनले भिडियो हेर्ने दर्शकलाई छोरा बचाउन सहयोग र आशिर्वाद दिन आग्रह गरेकी छन् ।