काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको हो।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान पौने ९ बजे मापन गरिएको उक्त तापक्रम यस वर्षकै सबैभन्दा कम हो।
तापक्रम घटेकाले आज अत्यधिक चिसो छ।
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको अनुमान छ।
मौसमविद् पौडेलका अनुसार अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ। सोमबार बिहान पौने ९ बजे लिइएको मापनअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री छ।
महाशाखाले दिउँसो त्यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ।
काठमाडौं र दिपायलमा पनि चिसोको मात्रा करिब करिब उस्तै छ। दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ।
सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ।
देशका धेरैजसो क्षेत्रको न्यूनतम तापक्रम ४ र ५ डिग्रीको बीचमा छ। ओखलढुंगामा ७ र धनकुटामा ६.६ डिग्री सेल्सियस छ ।
यसैबीच मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविद्हरूले गरेका छन्।
मौसमविद्का अनुसार मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन।