पुष १४ -लिटिल बुद्ध कहलिएका तपस्वी राम बहादुर बम्जन यतिबेला निकै बिवादमा आएका छन् । केही समय अगाडी उनको आश्रृममा अनुयायी बनेर ४ बर्षसम्म बसेकी गंगामाया तामाङले उनीमाथि बलात्कारको आरोप लगाएपछि बम्जनबिरुद्ध एकपछि अर्काे आरोपहरु आईरहेका छन् । उनीबिरुद्ध चार जना अनुयायी बेपत्ता पारिएको भन्दै परिवारजनले उजुरी दिएका छन् । यसैबीच बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लागेका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित भएको बताएको छ ।

आज संघले पत्रकार सम्मेलन गर्दे बम्जनमाथि लागेको झुठो भएको बताएको हो । संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधि धर्म संघ गुरु भएको दाबी गरेका छन् । उनले भने,‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ, सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे÷जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’
उनले बम्जनमाथि झुठो आरोप लगाउँदै बदनाम गर्न खोजिएको बताए । त्यस्तै बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गरे । उनले देशीरविदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार भईरहेको बताए । उनले अघि थपे,‘आफुहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रेवश निषेध छैन्, आनि बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शुन्यतावादको मान्यता मान्दछ, मानिसहरुकोबीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ, उहाँ बुद्ध धर्म मान्ने मानिस पनि होईन, ३४ मिनेटसम्म शरिरमा आगो लाग्यो त्यसपछि महान ज्ञानको भण्डारको रुपमा देखा पर्नुभएको हो, यो छलेर वा ढाटेर हुने कुरा होईन, सरकारले सत्य÷तथ्य छानविन गरोस् हामीपनि यहि चाहन्छौं ।’ कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डिराज बम्जन, जस बहादुर वाईवालगायतले बम्जनमाथि लागेको आरोपको खण्डन गर्दे लगाईएका आरोपहरु झुठो र भ्रामक भएको दाबी गरे ।