पुष १२ -अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दिपले आज सिड्नी सिक्सर्सबिरुद्धको खेलमा २ विकेट लिन सफल भएका छन् । उनले चार ओभरको बलिङमा १८ रन खर्च गरेर दुई विकेट लिएका हुन् । मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए ।
यसैगरी व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने मात्र २ रन दिए ।व्यक्तिगत तेस्रो ओभरमा सन्दिपले दोस्रो विकेट लिँदै टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे र अन्तिम ओभरमा नौ रन दिए ।
लिगको तीन चरणको खेल चलिरहँदा सन्दिप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनीपछि सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् । यसरी हेर्दा सन्दिपको दबदबा आजको खेलमा पनि रहेको छ ।
