पुष १२ – केहि समय अगाडि काठमाडौँमा घर भएका सांसदले घर भाडावापत लिएको खुलासा भएको थियो । काठमाडौंमा घर भएका केहि सांसदहरुले घरभाडावापत लिएको रकम फिर्ता गरे, केहिले भने गरेका छैनन् । त्यसपछि सुदूरपश्चिम प्रदेशका सांसदले राजधानीमा घर भएर पनि घरभाडा लिइरहेको पाइयो ।
काठमाडौँमा घर भएका र सुदूरपश्चिम प्रदेशको राजधानीमा घर भएका सांसदहरूले मात्रै होइन सातै प्रदेशका सांसदहरूले राजधानीमा घर हुँदा हुँदै भाडावापतको रकम लिइरहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
कुन प्रदेशका सांसदले कति लिन्छन् ?
प्रदेश १ : आफ्नै घरमा बसेर घरभाडा
संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटनगरमा घर छ । तैपनि उनीहरूले मासिक १५ हजारका दरले प्रदेश सभाबाट घरभाडा रकम बुझिरहेका छन् ।
प्रदेश ३ : घरभाडा आधा बुझ्छन् सांसद
प्रदेश राजधानी रहेको मकवानपुरका सांसदहरू इन्द्रबहादुर बानियाँ, मुनु सिग्देल र जुनेली श्रेष्ठले प्रदेश सभाबाट घरभाडाबापत पाउने १५ हजारमध्ये सात हजार पाँच सय रुपैयाँ बुझ्ने गरेका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ मा राजधानी भएकै स्थानमा घर भएका सांसदलाई घरभाडाबापतको आधा रकम उपलब्ध गराउने व्यवस्था छ ।
त्यस्तै कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओम ग्लान र सन्तबहादुर प्रजा भाडाका घरमा नबसे पनि घरभाडा बुझिरहेका छन् । मोक्तान हेटौँडा–१३ पदमपोखरीस्थित माइतीमा बस्छिन् ।
पुलामी माओवादी पार्टी कार्यालय हेटौँडामा, ग्लान र प्रजा मनहरी गाउँपालिकाको लोथरमा बस्दै आएका छन् । मोक्तान, पुलामी, ग्लान र प्रजाले घरभाडाबापत तोकिएको पूरा रकम १५ हजार लिइरहेका छन् ।