सञ्चिता घिमिरे
काठमाडौँ । विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो।
आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी फर्कँदा पैसा त कमाइन तर पैसासँग रोग पनि ल्याइन्। घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी धेरै खटिन्।
बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो। दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उनी स्वदेश फर्किइन्। उनले भनिन्, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ।”
उनी जस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्कनुपर्यो। दैनिक २१/२२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उनी केही महीना पहिले स्वदेश फर्किएकी थिइन्। एउटा परिवारका लागि काम गर्न उनले दिनमा दुईरतीन घण्टाबाहेक फुर्सद पाइनन्। उनी आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गरिन्। लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आउँदा उनी स्वदेश फर्किइन्। उनले भनिन्, “अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु।”
घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ। सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन। कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन्। कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन्।
अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भर्याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो। श्रीमान्को निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उनी वैदेशिक रोजगारीमा गइन्। कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उनले आफू ओमन जान लागेको थाहा पाइन्। दलालले उनलाई झुक्याएर कतार भन्दै ओमन पुर्याएको थियो। उनले जुन घरमा काम गर्थिन् त्यो घरमा उनले दुई घण्टाभन्दा बढी आराम गर्न पाइनन्। “उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे”, उनले भनिन्।
बिहान सबेरैदेखि राति अबेरसम्म पनि उनी घरायसी काममा नै व्यस्त भइन्। भाँडा माझ्दा, लुगा धुँदा र मिलाउँदा धेरै थाकेपछि उनलाई स्वदेश फर्कन मन लागेको थियो। बेचिएर त्यहाँ पुगेकी महिलाले चाहेर पनि स्वदेश फर्कन नमिल्ने रहेछ। आफू काम गरिरहेको घरमा बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै कुरा पाइनन्। “चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन्”, उनले भनिन्, “म नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु।”
वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताइन्। लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ। कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो। कतिपय महिला यौन हिंसामा समेत परेका छन्। काम गर्ने घरधनी वा आफन्तले बलात्कार गर्दा गर्भवती भएरसमेत कतिपय महिला फर्किएका छन्। पौरखीले घरमा फर्कन नसक्ने महिलालाई केही समय आश्रय दिएर तालीम दिने गरेको छ।
स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उनले बताइन्। नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोक्ने तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उनको अनुभव छ। उनले भनिन्, “जुनसुकै देशमा गएर काम गर्न खुला गरेर त्यहाँ भएका समस्याको समाधान खोज्नुपर्छ।” रासस