काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सार्वजनिक गर्ने क्रममा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि परराष्ट्र मन्त्रालयले सन्देश सच्याएर फेरि विज्ञप्ति जारी गरेको छ।
पछिल्लो सच्याएर जारी गरिएको सन्देशमा भने राष्ट्रपति भण्डारीले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई समवेदना व्यक्त गरेकी छन्।
इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा यसअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको थियो।
विज्ञप्तिमा इन्डोनेसियाका राष्ट्रपति लाई नेपालका राष्ट्रपति भण्डारीले सुनामीका कारण सयौं मानिसले ज्यान गुमाएको घटनाप्रति समवेदना प्रकट गर्नुपर्ने सन्देशमा बधाई वाक्य लेखिएको थियो।
पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख थियो।
सुनामीका कारण इन्डोनेसियामा ४ सय ३० भन्दा बढिको मृत्यु भइसकेको छ । ठुलो भौतिक क्षति भएको जनाइएको छ। उद्धार तथा राहतको काम जारी राखिएको छ।
