आशिस तामाङ
काठमाडौं – संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोेक राईले एमाले र माओवादी केन्द्रको एकता कोदो र तोरीको मिश्रण जस्तै भएको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर ३ द्वारा काठमाडौंको खुसिबुस्थित नेपाः व्याङ्क्वेटमा आयोजित पार्टी महाधिवेशनसम्बन्धी अभिमूखिकरण तथा प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
नेता राईले भने ‘एमाले र माओवादी केन्द्रको एकता कोदो र तोरीको मिश्रण हो, न तेल निस्किन्छ न त रोटी बनाएर खाना योग्य हुन्छ’ ।
नेता राईका अनुसार अबको बैकल्पिक राजनीतिक शाक्ति भनेकै सङ्घीय समाजवादी फोरम नेपाल भएको जिकिर गरे । कार्यक्रममा ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय शासन व्यवस्थाले मात्रै समाज र बहुराष्ट्रियतालाई समेट्ने बताए ।
उनले नेपाल जस्तो मुलुकका लागि राष्ट्रिय एकताको मूल आधार संघीयता भएको कुरामा जोड दिदै उनले भने, ‘यदि बहुराष्ट्रियतालाई समेट्न नसक्ने हो भने समृद्धि–समृद्धि मात्रै भनेर समृद्धि आउदैन र आइहाले पनि क्याटालोनिया, स्कटल्याण्ड र क्युबेकमा जस्तो विद्रोह हुने खतरा रहन्छ । जातीय राज्यको विकल्पमा जन्मेको राज्य नै संघीय राज्य हो ।
शासनमा सबै जातिको साझेदारी भएको राज्य व्यवस्था हामीले चाहेका हौँ’ सहअध्यक्ष श्रेष्ठको भनाई थियो । संघीय समाजवादका ९ वटा विशेषताहरु उल्लेख गर्दै उनले ‘संघीय शासन व्यवस्थासँग जोडिएको मूल विषय पहिचान हो र पहिचानको कुरा गर्दा आस्रित पहिचान हैन जन्मशिद्ध पहिचान मुख्य भएको बताए ।
ससफो, नेपालका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश समितिका अध्यक्ष लालबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज आङ्डेण्डी शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहइन्चार्ज कृष्णबहादुर घजुले गरेका थिए । सोमबारदेखि सुरू भएको प्रशिक्षण मंगलबार समापन भएको छ ।