काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् ।
संघीय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा संसदमा पारित भएको सामाजिक सुरक्षा कार्यक्रमलाई प्रधानमन्त्री ओलीले आफ्नो भनेर प्रचार गरेकोमा आपत्ति जनाएका हुन् ।
सभापति देउवाले भने, ‘मेरो नेतृवम संसदमा पारित भएको सामाजिक सुरक्षा अहिले आफैले ल्याएको कार्यक्रम जस्तो गरेर भरपुर प्रचार गरियो । ठाउँठाउँमा पोष्टर टाँसियो । अर्काले गरेको काम नि आफूले गरेके किन भन्नु नि ? हद हुन्छ नि ।’
‘एमसीसी मेलम्ची च्यालेन्ज कर्पोरेसनमा अमेरिकाले सबैभन्दा बढि आर्थिक सहयोग गरेको हो नेपाललाई । त्यो पनि मैले गरेको हे भन्ने प्रधानमन्त्रीले ?, देउवाले भने, ‘तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिका गएर हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री जस्तो मान्छेले जनतालाई भ्रम दिन थाले भने के हुन्छ ? जनतालाई ठग्न पाइन्छ । प्रधानमन्त्रीले ठग्न मिल्छ ?’
आफ्नो देशको जनतालाई सुरक्षा दिनु सरकारको पहिलो काम भएको बताउँदै अहिले देशमा सरकार नै छैन जस्तो अनुभूति लाग्न थालेको बताए ।
उनले संघीयता कार्यन्वयनता समन्धनमा सरकारले कुनै चासो नदेखाएको आरोप लगाए । त्यस्तै, मधेसका मुद्दालाई समाधान गर्नको लागि पनि सरकारले अहिलेसम्म कुनै ऐन ल्याउन नसकेको बताए । ‘मधेसका दाजुभाईको भावनालाई कदर गर्नुपर्छ । मधेसका मुद्दालाई समाधान गर्ने कुरामा सरकारलाई कुनै मतलब छैन,’ देउवाले भने ।
उनले गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने सरकारको प्रवृत्तिले अप्ठ्यारो निमात्याउन सक्ने चेतावनी दिँदै केसीको सम्झौता पूर गर्न सरकार लाग्नुपर्ने बताए
उनले सरकारलाई द्वन्द्वपीडित प्रति माया नभएको केवल सत्ता भए मात्र पुग्ने पनि आरोप लगाए ।
त्यस्तै इसाई धर्मसँग सम्बन्धित संस्थासँग मिलेर सरकार आफै आयोजक बनेर कार्यक्रम सञ्चालन गरेकोमा पनि देउवाले आपत्ति जनाए ।