२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली युवकको भारतको रायपुरमा दिउँसै बीच सडकमा २० पटक चक्कु हानी हत्या

1717 Shares
Spread the love

रायपुर। भारतको छत्तीसगढमा मजदूरी गर्न गएका एक नेपाली युवकको दिउँसै बीच सडकमा २० पटक चक्कु हानी हत्या गरिएको छ । छत्तीसगढको रायपुरको गुढियारी थाना क्षेत्रमा नेपाली युवक कृष्ण नेपालीको दिउँसै चक्कु प्रहार गरी हत्या गरिएको हो । हत्याको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको भारतीय दैनिक जागरणले लेखेको छ । मोटरसाइकलमा आएका आक्रमणकारीहरुले हिँडिरहेका कृष्णालाई एक्कासी अन्धाधुन्ध चक्कु प्रहार गरेर फरार भएको समाचारमा जनाइएको छ ।

शुक्रबार दिउँसो आक्रमण गरी फरार भएका आक्रमणकारीहरुलाई क्राइम ब्रान्च र पुलिसको टोलीले सोही दिन राती पक्राउ गरेको हो । हत्याको पछाडि जुवाको रकमको लेनदेनको विवाद रहेको बताइएको छ । कृष्णको नेपालको स्पष्ट ठेगाना खुलिसकेको छैन । उनी २ महिनाअगाडि कामको खोजीमा रायपुर पुगेको समाचारमा उल्लेख छ । उनी शुक्रबार काममा जानको लागि कोठाबाट निस्केका थिए । डेराबाट निस्केर उनी केही पर पुग्दा पछाडिबाट मोटरसाइकलमा सवार ४ युवक पुगेका थिए । चारैजनाको हातमा हतियार थिए । उनीहरुले केही नबोली कृष्णमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कृष्णमाथि आक्रमण भएपछि नजिकै रहेका एक युवक सोनु मेश्रामले कृष्णलाई बचाउने कोसिस गरे । सोनु अगाडि बढेपछि आक्रमणकारीहरु फरार भए । सोनुले गम्भीर घाइते कृष्णालाई अस्पताल लिएर गएका थिए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । प्रहरीका अनुसार आक्रमण गर्ने युवकहरु स्थानीय थिए र कृष्णका साथीहरु नै थिए । जुवाको रकमलाई लिएर तीन दिन पहिले साथीहरुसँग विवाद भएको प्रहरीले जनाएको छ । यही विवादका कारण उनका साथीहरुले योजना बनाएर उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरु स्थानीय विकास वर्मा, रुपेश वर्मा, मोनु कोरथे र करण राठोर भएको बताइएको छ ।

प्रतिक्रिया