पुस ९ –राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक १२ देखि १५ गतेसम्म चार दिन कतारको भ्रमण गर्दा एक करोड २० लाख २४ हजार ७७५ रुपैयाँ खर्च भएको पाइएको छ । भ्रमणमा लागेको खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिसकेको छ ।
“राष्ट्रपतिले कतारका अमिरको मैत्रीपूर्ण निमन्त्रणामा कार्तिक १२–१५, २०७५ सम्म प्रतिनिधिमण्डलको नेतृत्व गरेर जानुभएको औपचारिक भ्रमणको खर्च, भ्रमण खर्च नियमावली, २०६४ वमोजिम व्यवस्थापन गर्ने गरी परराष्ट्र मन्त्रालयको नाममा रकम निकासा,” अर्थ मन्त्रालयको निर्णयमा भनिएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीले गर्ने औपचारिक भ्रमणमा १० जनासम्मको सम्पूर्ण खर्च सम्बन्धित देशले व्यहोर्ने गर्छ भने बाँकीको स्वयंले गर्नुपर्ने हुन्छ ।
गत कात्तिकमा राष्ट्रपति भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् । कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा उनी कतारको औपचारिक भ्रमणमा निस्केकी थिइन् । राष्ट्रपति भण्डारीको कतार भ्रमण टोलीमा २७ जना काठमाडौंबाट र १० जना कतारस्थित नेपाली दूतावासबाट गरी कूल ३७ जना सहभागी थिए ।