पुष ९ -कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न नसक्दा प्रहरी संगठन आलोचित बनिरहेको छ । सुरुवाती अनुसन्धानमा नै प्रहरीले चरम लापरवाही गरेपछि पनि प्रहरीलाई हत्यारा सार्वजनिक गर्न कठिन भईरहेको अवस्था छ । त्यसोत अपराधीलाई सरकारले नै संरक्षण दिईरहेको आरोप पनि नलागेको होईन । यसैबीच प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारा जतिसुकै शक्तिशाली भएपनि कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताए। उनले भने ‘निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको छ । गलत जसले गरेको छ उ जतिसुकै शक्तिशाली भएपनि समातिन्छ । प्रहरी माथि शंका नगर्नुस् ।’ फरक प्रसंगमा खनालले आफ्नो शोखका लागि नभई प्रहरी आवश्यकताको आधारमा आईजीपीले प्रयोग गर्ने गरी खरिद गरिएको जानकारी दिए ।
‘१२ वर्षदेखि आईजीपीका लागि नयाँ गाडी खरिद गरिएको थिएन । भएको गाडीमा समस्या देखिएपछि नयाँ खरिद गरिएको हो’ खनालले भने, ‘अहिलेसम्म कुनैपनि सरकारी सम्पत्ति दुरुपयोग गरेको छैन। मैले आफ्नो छोरीलाई समेत प्रहरीको गाडी चढ्न दिएको छैन ।’आफूले प्रहरी संगठनभित्र सुधारको पहल गरिरहेको भन्दै उनले सबैबाट सहयोगको अपेक्षा लिएको पनि बताए ।सो क्रममासभा सम्मेलनका लागि १६ करोडको भवन निर्माण गरिएको, संगठनको कामको लागि १६ वटा गाडी खरिद गरिएको, विभिन्न सुरक्षाका सामग्री खरिद गरिएको लगायतका जानकारी आईजीपी खनालले गराएका थिए ।
यस्तै प्रहरीलाई फिल्डमा परिचालन गर्न ३४० वटा मोटरसाइकल खरिदको प्रक्रिया अघि बढाइएको पनि खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा खनालले आफूले आईजीपीमा नियुक्त भएयता गरिएका कामको फेहरिस्त पनि सार्वजनिक गरेका थिए ।