पुष ९ -पर्साको पर्सागढी नगरपालिकामा एक जनाको छुरा प्रहारबाट एक युवती गम्भिर घाईते भएकीछिन् । पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका- २ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् । विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । जनता उच्च कक्षा ११ मा अध्ययनरत सकुन्तलाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ भने जयकिशोरलाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

प्रहरीलाई दिएको बयानअनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको दावी जयकिशोरको छ ।जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको उनको दावी छ । पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् ।
‘मसँग प्रेममा थिइन्, कसैलाई थाहा नदिइ हामीबीच विवाह नै भयो । उनले नै सबै कामबाट छुटाइन्, अहिले अर्कैसँग फोनमा कुरा गर्न थालेकी छिन्,’ उनले भने, ‘विवाह गर्ने कुरा भइरहेको छ, त्यसैले मलाई किन धोका दिएको भनेर आवेगमा आएर छुरा प्रहार गरेको हुँ ।’ जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाउँने तयारी प्रहरीले गरेको छ ।