पुष ७-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपक्षी दल नेपाली कांग्रेसलाई कडा शब्दमा चेतावनी दिएका छन् । कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा कडा आपत्ति जनाउँदै उनले कांग्रेसलाई चेतावनी दिएका हुन् । शनिबार काठमाडौंमा ‘देश किन बनेन्’ नामक पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी दिए ।
वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति सुशील कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष प्रचण्डको दावी छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा भएको भन्दै उनले एउटामात्र खम्बा भत्किए सिंगै घर भत्किने भएकोले यस्तो दुश्साहस नगर्न प्रचण्डले कांग्रेसलाई चेतावनी दिए । एउटामात्र धर्मको बारेमा वकालत गर्नु निकै घातक हुने प्रचण्डको भनाई छ ।