नेपाल आईडल २ को बिजेता बनेसंगै रबि ओड एकाएक चर्चामा आएका छन् । नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरका रबिले उपाधी जित्दा उनलाई यतिबेला बधाईको ओहिरो लागिरहेको छ । यस कारण पनि की यस्ता प्रतियोगिता प्राय जसमा पैसाको शक्ति उसैको भक्ती देखिँदै आएको थियो फाईनलमा तर एक गरिब परिवारमा जन्मिएका रबिको यो जीतलाई भने सबै नेपालीहरुले वास्तविक रुपमा नेपालीहरुको बिजय भनेका छन् किनकी रबि ओडलाई मिलेको भोट नत कसैले किनेको थियो नत जबरजस्तीको थियो । कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका रबि परिवारको तस्रो सन्तान हुन् ।

उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रबिलाई उनको सपनाको उडान भर्नका लागि आर्थिक अभाव कारक बनेनन् ।

नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलाई जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफुलाई उत्कृष्ट गायकको रुपमा उभ्याउँदै उपाधी पनि जिते ।

“ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल” भन्ने भनाई चरितार्थ गर्दे आज एक गरिब परिवारका रबि सेलिब्रेटी बनेका छन् । रबिको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

रबिको संघर्ष र उपलब्धी हेर्ने हो भने कुनै सपना साकार पार्न पैसा मात्र होईन द्धृण विश्वास , परिश्रृम र जनताको समर्थन पाए कुनै पनि सपनाको उडान भर्न गाह्रो हुँदैन । तर प्रतियोगिता भएकै कारण कतिपय पक्ष रबिले उपाधी जित्दा खुसी छैनन् । उनलाई टप ४ सम्म पुगे पनि उपाधीकै हकदार नभएको भन्दै सामाजिक सञ्जालमा बहस पनि भईरहेको छ । उनको जीतलाई गीतसंगितको जीत नभई दयाको जीत भनेर टिकाटिप्पणी पनि भईरहेको छ ।
