पुष ७- नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ।शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे। ‘एकजना कामरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो।
त्यस्तो अभिव्यक्ति गलत छ’, रिमालको अभिव्यक्तिप्रति लक्ष्य गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न।’उनले प्रश्न गरे, ‘के तपाईँले आफूलाई त्यस्तै ठान्नुभएको होरु त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन।’
सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिएकम्युनिस्ट समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको भन्दै श्रेष्ठले बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको समेत बैठकमा प्रस्ट्याए ।
बैठकमा नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित सातजनाले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । बैठकमा बोल्नेमध्ये श्रेष्ठ, थापा र शेरचनले आलोचनात्मक टिप्पणी गरेका थिए आजको नयाँ पत्रिकामा खबर छ।