दाङको तुल्सीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ । शैक्षिक भ्रमण गरी सल्यानबाट दाङ फर्किरहेको बा ४ ख ९७६६ नम्बरको बस हिजो साँझ दुर्घटना भएको हो । बसमा ३४ जना विद्यार्थी, दुई शिक्षक, चालक र सहचालक गरी ३८ जना सवार रहेको बताइएको छ ।
घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूटका वन विज्ञान विषयका विद्यार्थी र शिक्षक हिजो बिहान सल्यानको छायाछेत्रमा वनस्पतिसम्बधी प्रयोगात्मक अभ्यासका लागि गएका थिए । फर्कने क्रमा उक्त बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटनान भएको हो । साँघुरो र भिरालो पहाडमा बस टुक्राटुक्रा भएकाले उद्धारमा समेत समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गम्भीर घाइते केहीको नेपालगन्जमा उपचार भइरहेको छ ।
अन्यको भने राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउने मध्ये अहिलेसम्म ५ जनाको मात्रै पहिचान खुलेको छ । मृत्यु हुनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु प्रदीप घिमिरे, नरेश वली, सञ्जित रत्गैया र विजय जीएम रहेका छन् ।