भारत धर्मनिरपेक्ष राष्ट्र भईकन पनि त्यहाँ हिन्दु धर्मालम्बीहरुको बोलवाला निके बढि छ । धर्मसंग सम्बन्धीत कसैको सानो अभिव्यक्तिले त्यसले ठुलो रुप लिने गरेको छ । कहिलेकाही मन्त्री ,नेतादेखि बलिउड कलाकारहरु पनि यस्ता अभिव्यक्ति दिएर आलोचना र बिवादमा आउँने गर्छन् । यस्तै अभिव्यक्ति दिएर बलिउडका कलाकार नसीरुद्दीन शाह आलोचनामा आएका छन् । उनले केही दिन अगाडी गाईलाई लिएर दिएको अभिव्यक्तिको कारण उनलाई एक कार्यक्रममा निकै हम्मेहम्मे परेको छ ।

उनले केही दिन अघि एक भिडियो सेयर गर्दे भनेका थिए “समाजमा बिष नै फैलिसकेको छ । मलाई मेरो सन्तानलाई लिएर निकै चिन्ता हुने गर्छ । यदि उनीहरुलाई कुनै भिडले घेरेर तिमीहरु हिन्दु हो की मुसलमान भनेर सोध उनीहरुसंग कुनै जवाफ हुने छैन । देशमा प्रहरीभन्दा पनि गाई मर्दा ठुलो बिषय बन्ने गर्छ” ।
उनले दिएको यस्तो अभिव्यक्तिको कारण अजमेरमा आयोजना गरिएको लिटरेचर फेस्टिवलमा सहभागी हुन गएका उनलाई कार्यक्रममा सहभागी हुनै दिईएन । कार्यक्रम स्थल पुगेका नसीरुद्दीनको बिरोधमा बीजेपी युवा मोर्चा कार्यकर्ताहरुले स्टेज तोडफोड गर्नुका साथै उनको बिरुद्ध नाराबाजी नै भयो । कार्यक्रम स्थलमा भयानकरुप लिन थालेपछि नसीरुद्दीन कारबाट ओर्लिनै सकेनन र त्यहीबाट फर्किएर गए । प्रहरीले समेत भिड र बिरोधको नियन्त्रण गर्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नसीरुद्दीनको त्यही अभिव्यक्तिको कारण उनलाई पाकिस्तान जान पनि सामाजिक सञ्जालमार्फत सल्लाह दिएका छन् भने पाकिस्तानको दलाल ,देशद्रोही र गद्धारसमेत भएको आरोप लगाएका छन् । उनले भने देशप्रतिको चिन्ताको कारण उक्त अभिव्यक्ति दिएको बताएका छन् । उनको अभिव्यक्तिलाई कांग्रेसले समर्थन गरेको छ तर बीजेपीले भने उनको कडा बिरोध गरिरहेको छ ।त्यसोत नसीरुद्दीन बिवादमा आएको भने पहिलो पटक होईन उनले यसअघि पनि दिएका अभिव्यक्तिको कारण बिवादमा आएका थिए ।