पुष ६ – भर्खरै मात्र हिन्दु धर्म रक्षाका लागि पूर्व राजासंग सहकार्य हुन सक्ने बताएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार ज्ञानेन्द्र शाहसंग भेटवार्ता गरेका छन् ।थापाले १५ दिने भ्रमणका क्रममा रहेका पूर्वराजा शाहलाई पोखरामा आज बिहान भेटघाट गरेका हुन् । पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुगेका थिए । उनीहरुबीच करिब सवा एक घण्टा कुराकानी भएको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले जानकारी दिए ।
शाह र थापाबीच विहान ९ बजेदेखि सवा १० बजेसम्म कुराकानी भएको थियो ।भेटमा पूर्व राजा शाहले देशको बिग्रदो अवस्थाप्रति चासो राख्दै चिन्ता व्यक्त गरेको मिडिया नेपालका अध्यक्ष पौडेलले जानकारी दिए । साथै देशका अन्य समसामयिक विषयमा पनि चासो राखेको उनले बताए ।
उनका अनुसार भेटमा राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारे पनि जानकारी गराएको पौडेलले बताए ।
पूर्वराजा शाह र राप्रपा अध्यक्षबीच शुक्रबार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह पुस २ गते १६ दिनका लागि पोखरा आएका हुन् भने राप्रपा अध्यक्ष थापा बिहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन आएका हुन् ।