नेपाली सिनेमा क्षेत्रमा कुनै समयकी चर्चित एवं लोकप्रिय नायिका जल शाह यतिबेला नेपाल आएकीछिन् । आफनी आमा एवं साहित्यकार स्वर्गीय प्रेमा शाहको प्रथम स्मृती दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका लागि उनी नेपाल आएकी हुन् ।
राजधानीमा आज आयोजना गरिएको स्मृति सभामा आमालाई सम्झिएर जल निकै भावुक बनिन् । आमाको तस्बिरमा फूल अर्पण गर्दैगर्दा उनका आँखामा आँसु टिलपिल भएका थिए । छोरी कलश हजुरआमालाई सम्झिएर भक्कानिएपछि जलले पनि आफूलाई सम्हाल्न सकिनन् । उनी कार्यक्रम अवधीभर नै निकै भावुक बनेकी थिईन् ।

आमाको प्रथम स्मृति सभामा अभिनेत्री जल शाह पहिलो पटक छोरी र श्रीमान शरदकुमार रिमालसँग उपस्थित भएकी थिइन् । यतिबेला फिल्मी दुनियाँबाट टाढै रहेकी जल एक महिना नेपाल नै बस्ने कार्यक्रम रहेको छ ।

प्रेमाको ७५ बर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । उनीआमा प्रेमा यौन मनोविज्ञानमा आधारित कृतिहरु निकाल्न माहिर थिईन् । आमाको चाहनामा नै यादव खरेलको फिल्म श्री स्वस्थानीबाट नेपाली सिनेमा डेब्यु गरेकी जलले अवतारबाट भने उनी नायिकाको रुपमा नेपाली पर्दामा उत्रिएकी थिईन् ।



