नेपाली कलाकारहरुको चाहना बलिउडप्रति पनि रहेको देखिँदै आएको छ । भने जस्तो यात्रा नभए पनि केही कलाकारहरुले बलिउड फिल्ममा अभिनय गरेका छन् भने कोही आज पनि संघर्षको क्रममा रहेका छन् । तर तीनै बलिउडका कलाकारहरु पनि नेपाली पर्दामा देखिएका छन् । आउनुस जानौँ ती बलिउड कलाकारहरुको बारेमा जसले नेपाली फिल्ममा काम गरेका छन् ।
सुकविन्दर सिंह ः निर्देशक आकास अधिकारीको बलिउडकर्मीहरुसंग राम्रो हेलमेल रहेको छ । तीनै हेलमेलको फाईदा उठाउँदै उनले आफनो निर्माण र निर्देशनमा बनेको फिल्म ‘काठमाडौँ’ मा बलिउडका चर्चित गायक सुकविन्दर सिंहलाई अभिनय गराएका थिए । जब सुकविन्दरले यस फिल्ममा काम गरे तब उनको नेपाली सिनेबृतमा खुबै चर्चा भएको थियो । फिल्ममा उनले अभिनय मात्र होईन गीत पनि गाएका थिए । फिल्मले भने जस्तो सफलता नपाएपनि बलिउड गायकलाई फिल्ममा खेलाउँदा त्यसको भने खुबै चर्चा भएको थियो ।

दिपराज राणा :- बलिउड , साउथ र केही सिरियलहरुमा समेत काम गरेका दिपराज बलिउडका नामचिन कलाकार हुन् । नेपालसंग नजिकको साईनो राख्ने दिपराजको नेपाली फिल्मप्रतिको मोह पनि देखिँदै आएको छ । ‘गुन्डे’, ‘साथीयाँ’, ‘बुलेट राजा’, ‘ग्याङ अफ वसेपुर’ , ‘सिंघम रिर्टन्स’ , ‘प्रेम रतन धन पायो’ जस्ता फिल्महरुमा काम गरेका दिपराजले सरगम र पछिल्लो पटक श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनुर’मा अभिनय गरेका थिए । त्यसपछि भने उनी नेपाली पर्दामा देखिएका छैनन ।

राजपाल यादव :- बलिउड फिल्ममा कमेडी किंगको रुपमा हेरिने कलाकार राजपाल यादवलाई नचिन्ने सायद कुनै नेपाली छैनन होला । कुनै समय बलिउड राजपाल नभएको फिल्म भेट्टाउँन निकै मुस्किल पथ्र्यो तर आजभोली भने उनको फिल्महरु अलिक कम आउँछ । दर्शकलाई पेटै मिच्ने गरी हसाउँन सफल राजपालले आकास अधिकारीकै फिल्म ‘करोडपति’ मा अभिनय गरेका छन् । जुन फिल्मले भर्खरै मात्र सुटिङ सकेको छ । केही समय अगाडी नेपाली पोसाकमा सजिएको तस्बिर भाईरल भएका राजपालले केही समय अगाडीमात्र लोक शैलीको गीतको सुटिङ सकेर स्वदेश फर्किएका थिए । फिल्ममा उनको पनि मुख्य भुमिका रहेको छ ।

स्वेता तिवारी :- भारतीय टेलिभिजनको चर्चित अनुसार स्वेता तिवारी पनि नेपाली पर्दामार्फत दर्शकमाझ आईसकेकीछिन् । ‘सुल्ताना”, बनी एण्ड बाल्बो’, ‘मीले ना मिले हम’ लगायका बलिउड फिल्ममा काम गरिसकेकी स्वेताले निखिल उप्रेतीको नायिका भएर ‘त्रिनेत्र’ मा काम गरेकी थिईन तर फिल्मको चर्चा अनुसार व्यसाय भने खासै हुन सकेन ।

ममिक सिंह :- बलिउडका कलाकार ममिक सिंह एक अभिनय गर्ने सेलिब्रेटी हुन । पुरानो सिरियल “चन्द«कान्ता” मा सुर्याको भुमिकाबाट सर्बत्र चर्चामा आएका उनले त्यसपछि कयौ फिल्ममा काम गरे । केही समय दार्जिलिङमा समेत बसेका नेपाली बोल्न सक्ने ममिकले राजेश हमाल र पुजा चन्दको साथमा “हाम्रो सानो घर होला” मा काम गरेका थिए । जुन फिल्मको शिर्ष गीतमा नै उनी देखिएका थिए भने फिल्मलाई दर्शकले रुचाएका पनि थिए ।

सयाजी शिंदे :-निखिल उप्रेतीको महत्वकांक्षी फिल्मको रुपमा रहेको ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ मा बलिउड तथा साउथ फिल्ममा काम गरेका चर्चित कलाकार सियाजीले पनि अभिनय गरेका छन् । फिल्ममा उनको भुमिकाको सुटिङ सम्पन्न भईसकेको छ । उनले नेपालमा नै आएर आफनो भागको सुटिङ सकेका हुन तर आर्थिक लफडाको कारण यो फिल्मको सुटिङ पुरा हुन सकेको छैन । फिल्ममा उनी प्रहरीको भुमिकामा छन् । निखिलको निर्देशनमा बन्न लागिरहेको यस फिल्ममा रञ्जित, अनन्त जोग, अली जाफर लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ । यस बाहेक बलिउडका खलनायक गुल्सन ग्रोबरले पनि नेपालमा बनेको फिल्म द म्यान फ्रम काठमाण्डूमा काम गरेका छन् तर उक्त फिल्म अंग्रेजी भाषामा बनेको छ ।
