काठमाडौं : चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ का उत्कृष्ट पाँचमा पुग्न सफल प्रतियोगीहरु अष्ट्रेलिया भ्रमणमा जाने भएका छन् । अष्ट्रेलियाको पर्थमा आगामी जनवरीमा हुने भ्रमणमा प्रतियोगिताका उत्कृष्ट पाँच जना सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले आफ्नो गायन प्रस्तुत गर्नेछन् ।
एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने भ्रमण तास्मनियामा पुगेर अन्त्य हुनेछ । इभेन्टका निर्देशक अभिरमानसिंह बस्नेतले अष्ट्रेलियाको मुख्य आठ शहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार, सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम गर्ने तय भइसकेको छ । अन्य दुई सहरमा पनि छिट्टै घोषणा हुनेछ ।
सिड्नीमा नेपाली टच, पर्थमा असनेपाल इभेन्ट र वेस्र्टन नेपाली क्रिकेट क्लब, ब्रिसवेनमा सिभेन्टस् ब्रिसबेन, मेलर्वनमा स्मार्ट एक्सेस इन्टरटेन्ट र क्यानवेरामा जिम गौली इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम गरिने निर्देशक बस्नेतले जानकारी दिए । ‘अष्ट्रेलियाको भूगोल ठूलो छ, बसोबासको बनावट पनि उस्तै छ’, निर्देशक बस्नेतले भने, ‘सबै सहरमा रहने नेपालीहरूलाई सांगीतिक कार्यक्रममार्फत एक ठाउँमा उभिने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।’
एपी वान टेलिभिजनबाट प्रशारण भएको नेपाल आइडल विश्वमा सबैभन्दा बढी हेरिने टेलिभिजन सोमध्ये दोस्रो स्थानमा रहेको छ । उत्कृष्ट छ बाट बाहिरिएका पवन गिरीलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजकले जनाएको छ ।