अमेरिकाले चीनको स्वसाशित क्षेत्र तिब्बतमा आफ्नो कुटनीतिज्ञ, पत्रकार र नागरिकहरुलाई स्वतन्त्र पहुँच नदिने चिनियाँ अधिकारीलाई कारवाही गर्ने कानुन निर्माण गरेको छ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेपछि बुधबारबाट कार्यान्वयनमा आएको सो कानुनमा अमेरिकी नागरिकले तिब्बत पहुँच नदिने चिनियाँ अधिकारीलाई अमेरिकाले पनि भीसा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ।
चिनियाँहरुले चाहिँ अमेरिकाका सबै राज्यमा आवतजावतका लागि भीषा प्राप्त गर्ने गरेको तर, यही स्तरको सुविधा अमेरिकी नागरिकहरुले तिब्बतमा नपाएको जनाउँदै अमेरिकाले उपरोक्त कानून निर्माण गरेको हो।
अमेरिकाका दुई प्रमुख दलहरु–रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीको सहमतिमा पारित गरिएको कानुनमा अमेरिकामा चिनियाँ नागरिकले प्राप्त गरेको जतिकै पहुँच अमेरिकी नागरिकहरुले तिब्बतमा पाउनु पर्ने उल्लेख गरिएको छ।
‘रिसिप्रोकल एक्सेस टु तिब्बत एक्ट’ रिपब्लिक र डेमोक्र्याट दुबै दलको संयुक्त विधेयकको रुपमा आएको हो। सो विधेयक मार्को रुविओ र टेमी बाल्डविनले सिनेटमा प्रस्तुत गरेका हुन्।
सो कानुनमा अमेरिकी विदेशमन्त्रीले संसदमा अमेरिकी सरकारी अधिकारी, पत्रकार तथा पर्यटकलाई चिनियाँ अधिकारीहरुले दिएको पहुँच बारेको प्रतिवेदन संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
यदि विदेश विदेश सचिवले तिब्बतमा अमेरिकी नागरिकलाई यात्रा प्रतिबन्द रहेको बेहोराको प्रतिवेदन बुझाए भने सम्बन्धित चिनियाँ अधिकारीलाई अमेरिकी प्रवेश गर्न अयोग्य हुने व्यवस्था नयाँ कानुनमा गरिएको छ।
नेपालसँग सीमा जोडिएको तिब्बतको विषयलाई चीनले संवेदनशील भूभागको रुपमा लिने गरेको छ। तिब्बतका १९ वटा काउन्टी नेपालसँग जोडिएका छन्। चीनले तिब्बत प्रवेशका लागि छुट्टै खालको विशेष भिसा जारी गर्दै आएको छ।