काठमाडौं, असोज २९ गते । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला उपाध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईले गैरआवासीय नेपालीहरूको श्रम, शीप र आर्थिक सहायता समुन्नत नेपाल निर्माणका लागि महत्वपूर्ण हुने बताएकी छन्।
गैरआवासीय अभियन्ता प्रधानले नेपाल र नेपालीले सबै संकटको समाधान निकाल्न सक्ने बताउँदै गैरआवासीय नेपालीहरूले देशलाई समुन्नत बनाउने समय आइसकेको धारणा राखेकी हुन्।
प्रधानले नेपालको पर्यटनलाई विश्वमाँझ प्रचारप्रसार गरेर राष्ट्रिय आय बृद्धि गर्न सकिने बताइन्। साथै कला र संस्कृतिको प्रचार गर्न सके लाखौँ पर्यटक नेपाल आउने उनको भनाइ छ।
गैरआवासीय नेपाली संघको निर्वाचनमा होमिएकी प्रधानले विश्वभरि रहेका नेपालका समस्या समाधानका लागि पहल गर्ने, युवा र महिलालाई सशक्त बनाउने र संघलाई अझै सबल बनाउने बताइन्। ‘गैरआवासीय नेपालीका समस्यालाई मैले पहिचान गरेकी छु, त्यसैले समाधान दिन सक्ने अठोटका साथ चुनावी मैदानमा होमिएकी हुँ,’ उनले भनिन्।
उनले सामाजिक कार्यमा आफ्नो प्रतिवद्धता अझै दृढ र प्रभावकारी बनाउने बताउँदै विश्वभरिका गैरआवासीय नेपाली अभियन्ता, अग्रज र डेलिगेट्सलाई मत दिएर विजयी बनाउन अपिल गरेकी छन्।