२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद

1014 Shares
Spread the love

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको छ।

सङ्घीय राजधानी काठमाडौँको ढुङ्गेअड्डास्थित एसियन फुडको गोदामबाट कीरा लागेको केराउ र कुहिएको मुङको दाल प्रहरीले बरामद गरेको हो। बरामद गरिएको केराउ र मुङको परिमाण ७६ हजार किलोग्राम रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सो गोदाममा छापा मारी ६५ हजार किलोग्राम हरियो केराउ र एघार हजार किलोग्राम मुङको दाल फेलापारेको छापा मार्ने कार्यमा संलग्न परिसरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिए। गोदाममा लामो समयदेखि भण्डारण गरी राखिएका हरियो केराउ र मुङको दाल कुहिएर अखाद्य बनिसकेको अवस्थामा प्रहरीले फेलापारेको हो।

बरामद गरिएका सामग्रीको बजार भाउ करिब ७७ लाख रुपैयाँ हुनसक्ने उनले बताए। बरामद गरिएका सामग्री पूर्णरूपमा कुहेर अखाद्य बनिसकेका छन्। यसरी अखाद्य बनिसकेका सामग्री पनि बजारमा बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले सो गोदाममा छापा मारेको हो।

लामाका अनुसार आइतबार बेलुकासम्म सो गोदामका सञ्चालक, स्टोरकिपर र गाडीका चालक गरी चार जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि कालोबजारी गरेको अपराधमा मुद्दा चलाइने भएको छ। उहाँका अनुसार बरामद गरिएका सामान गोदाममा नै सिलबन्दी गरिएको छ। बिक्री वितरणका लागि बजार लैजान तयारी अवस्थामा राखिएका चालीस बोरा सामग्री जफत गरी प्रहरी परिसरमा ल्याइएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया