२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

करोडपति ‘सुब्बासाब’-धमाधम अख्तियारको फन्दामा

1693 Shares
Spread the love

काठमाडौं । आकर्षक निकायमा बस्ने नायब सुब्बास्तरका कर्मचारीहरु अकूत सम्पत्ति छानबिनका क्रममा धमाधम ‘भ्रष्टाचारी’ सावित हुन थालेका छन् । उनीहरु अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्दै जान थालेका हुन् ।

यसै क्रममा अख्तियारले आइतबार भन्सार विभागका पूर्व नायबसुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख गैरकानुनी रुपियाँ आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले घिमिरे र उनकी श्रीमती शारदा गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै भ्रष्टाचार गरेर कमाएको सो सम्पत्ति जफत गर्न माग गरेको छ ।

आयोगका अनुसार घिमिरेले ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपियाँ जोडेकोमा त्यसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार रुपियाँ मात्रै ठहर भएको थियो । बाँकी २ करोड १४ लाख ४६ हजार ६ सय ५२ रुपियाँ २४ पैसा गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारले केही समय अघि मात्रै सरकारका अवकाश प्राप्त नायब सुब्बा गणपति झाविरुद्ध पनि २ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत झाले अन्य विभिन्न कार्यालयमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले फेला पारेको थियो ।

यस्तै केही महिनाअघि मात्रै अख्तियारले झापाका नायबसुब्बा स्तरका पूर्व कर्मचारी भीमकान्त भण्डारीविरुद्ध पनि ६ करोड रुपियाँ अकूत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

आइतबार मुद्दा दायर गरिएका घिमिरेलाई गत वर्ष अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा मन्त्रलायभित्र अनधिकृत रुपमा प्रवेश गरेको आरोप लागेको थियो। अनधिकृत व्यक्तिलाई व्यवसायीको मिलेमतोमा बजेट निर्माणमा सहभागी गराइएको भन्दै प्रश्न उठेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । तर, संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मा पुनः अर्थमन्त्री बनेका थिए ।

पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभागलगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानुनी काम गरी सम्पत्ति कमाएको आरोप छ । कात्तिक २०५२ देखि पुस २०७९ सम्म सरकारी सेवामा रहेका उनले गैरकानुनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको अख्तियारको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया