२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

दाङबाट काठमाडौं उडेको जहाज नेपालगन्जमा अवतरण भएपछि…

1193 Shares
Spread the love

तुलसीपुर। दाङको टरिगाउँबाट काठमाडौंका लागि उडेको सीता एयरले नेपालगन्जमा लगेर यात्रुलाई अलपत्र पारेको छ ।

बिहान ११ बजे टरिगाउँ एयरपोर्टबाट काठमाडौंका लागि उडान भरेको सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । सीता एयरका क्षेत्रीय निर्देशक विनोद मिश्रसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यात्रुलाई काठमाडौं लैजान्छौं भनेर नेपालगन्ज लगेर ओराल्नु सीता एयरको गम्भीर लापर्बाही भएको घोराही रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले बताइन् ।

‘साढे १ बजे भनेर मंगलबार टिकट काटेकी थिएँ, त्यहीदिन साँझ नै बुधबारका लागि बिहान ९ बजे विमानस्थलमा आउनुहोला भन्ने खबर आयो,’ उनले भनिन्, ‘९ बजे विमानस्थल पुगेपछि ११ बजे जहाज काठमाडौंका लागि उड्यो, ११ बजेर १५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण भयो ।’

विमानका कर्मचारीले सुरुमा अर्को जहाजमा व्यवस्थापन गरेर पठाउँछौं भनेर आक्रोशित यात्रुलाई शान्त बनाए पनि पछि बेवास्ता गरेको यात्रुको भनाइ छ । सीता एयरले यात्राको व्यवस्थापन नगरेपछि आफू बुद्ध एयरको जहाजमा काठमाडौं पुगेको लक्ष्मीले बताइन् । राजधानी दैनिकबाट

प्रतिक्रिया