२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

निगमको मासिक घाटा ६४ करोड

1211 Shares
Spread the love

काठमाडौं : नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो।

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्य वृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य छ।

प्रतिब्यारेलमा एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ। अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नुपर्ने भएको छ।

अत्यधिक इन्धन उत्पादन गर्ने इरानको कारोबारलाई अहिले अमेरिकाले प्रतिबन्ध गरेको छ। साथै, अमेरिकाले अन्य मुलुकलाई पनि इरानसँग आर्थिक कारोबार नगर्न दबाब दिएको छ। यसले गर्दा इरानको इन्धन विश्व बजारमा आउन पाएको छैन। यस्तै भेनेजुयला र लिवियाले उत्पादन गर्ने इन्धन पनि पर्याप्त परिमाणमा बजारमा आउन नसक्दा इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको हो।

यसवाहेक पछिल्लो समयमा कायम भएको अमेरिकी डलरको विनियम दरका कारण पनि निगमले अतिरिक्त मासिक करिब १४ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ। अहिले अमेरिकी डलरको विनियमदर एक सय १३ रुपैयाँ ५२ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो। दुई महिनाअघि एक डलरबराबर सटहीदर एक सय आठ रुपैयाँ थियो। अहिले एक डलरमा साढे पाँच रुपैयाँ वृद्धि भएको छ।

पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ।

निगमले एक महिनामा खरिद गर्ने इन्धनको मूल्यलाई आधार मान्ने हो भने विनियमदर एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई महिनामा करिब १५ करोडभन्दा बढीको अतिरिक्त आर्थिक भार थपिन्छ। पछिल्लो १ सेप्टेम्बरमा निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गरेको इन्धनको मूल्य सूचीअनुसार सबैभन्दा बढी खाना पकाउने एलपीजी ग्यासमा घाटा व्यहोर्न बाध्य भएको छ।

हाल प्रतिसिलिन्डरमा ५१ रुपैयाँ बढी मूल्य थपेर ग्यासको मूल्य आएको छ। समग्रमा प्रतिसिलिन्डरमा निगमले अहिले तीन सय ३२ रुपैयाँ घाटा व्यहोर्ने भएको छ। ग्यासतर्फ १५ दिनमा निगमले ३९ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ ११ पैसा घाटा भएको छ। १५ दिनमा पेट्रोलतर्फ मात्रै दुई करोड ३९ लाख रुपैयाँको घाटा भएको छ। यस्तै डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ८४ पैसा घाटा भएको छ। डिजेलतर्फ पनि १५ दिनमा १९ करोड ३२ लाखको घाटा निगमलाई भएको छ। निगमलाई मट्टीतेल र हवाई इन्धनको कारोबारमा भने फाइदा छ। १५ दिनमा मट्टीतेलमा एक करोड ८१ लाख र हवाई इन्धनमा २७ करोड ९० लाख रुपैयाँ नाफा भएको छ।

प्रतिक्रिया