काठमाडौं, जेठ १० । मुलुकको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि त्यसलाई आधिकारिकता दिन सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेसँगै जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।
जनता समाजवादी दलका नेताहरुले शनिबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुका मागहरुसमेत समावेश गरेर एकैपटक संविधान संशोधनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
देउवाले सो विषयमा पार्टीभित्र छलफल गर्ने र त्यसपछि पुनः बैठक बसेर निर्णयमा पुग्ने आश्वासन दिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।
जनता समाजवादी पार्टीका नेताहरुकाअनुसार सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावबारेमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेटेर सरकारले गत बुधकार नेपालको नक्सा अद्यावधिक गरेको थियो ।
यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारले मधेसवादी दलहरुले उठाएका मागअनुसार संविधान संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपनि संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।