काठमाडौं । काँग्रेस जिल्ला सभापतिहरुले सीमा विवाद कुटनीतिक पहलबाट समाधान गर्न सुझाएका छन् ।
आज गणेशमान अध्ययन प्रतिष्ठानले काँग्रेसका जिल्ला सभापतिहरुसँग गरेको अनलाईन छलफलमा भारतले नेपाली भूभाग मिचेर चीनको मानसरोवर जाने सडक बनाएको विषयमा बोल्दै कुटनीतिक पहलबाट मात्रै समस्या समाधान गर्नुपर्ने र त्यो छिट्टै गर्न सुझाएका हुन् ।
‘यो सीमा विवाद कुनै दल वा व्यक्तिले विरोध गर्दैमा समाधान हुन्न सिन्धुपाल्चोकका सभापति विकास लामाले भने, यस विषयमा सरकारले गम्भीर भएर कुटनीतिक पहल गर्न जरुरी छ ।’
जिल्ला सभापतिहरुले अब पार्टी र सरकारले नै आगामी दिनमा कृषिलाई व्यवसायीकरण गर्न जोड दिनुपर्ने विषयमा सुझाव दिएको लामाले बताए ।
‘अहिले पर्यटन, होटल व्यवसाय, उद्योगधन्दा चौपट अवस्थामा छ भोलिका दिनमा भोकमारीको अवस्था नआओस भन्नका लागि पनि अब पार्टी तथा सरकारले कृषिलाई प्राथमिकतामा राख्न हामी सबैले सुझाव दिएका छौं’ लामाले भने ।
लकडाउनको अवस्थामा चुल्हो बल्नै गार्हो भएकालाई सरकारले राहत दिनुपर्ने भएतापनि राहत वितरण निष्पक्ष हुन नसकेको छलफलमा उठेको थियो ।
राहत वितरणमा अब काँग्रेस सभापतिहरुले निगरानी गर्ने जिल्ला सभापतिहरुले बताएका छन् ।
प्रतिष्ठानका अध्यक्ष नविन्द्र्रराज जोशीसँग गरिएको छलफल जिल्लामा कोभिड १९ नियन्त्रणका लागि गरिएका प्रयास, अहिलेको लकडाउन र कोरोना संक्रमणको अवस्थामा काँग्रेसको भूमिका, राहत वितरण, देशको आर्थिक अवस्था र सीमा विवादजस्ता विषयमा केन्द्रित रहेको सिन्धुपाल्चोकका सभापति लामाले जानकारी दिए ।
छलफलमा देशभरका १९ जिल्ला सभापतिहरु सहभागि थिए ।