२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सांसद डा. यादवले दिए मानवअधिकार आयोगमा अपहरणको उजुरी

882 Shares
Spread the love

काठमाडौं, वैशाख १८ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि सांसद यादवले मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा सांसद सुरेन्द्र यादवले सत्ता र शक्तिका आडमा ज्यान लिनसक्ने अझैपनि जोखिम रहेको उल्लेख गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व‘आईजीपी’ खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार आयोग कार्यालय पुगेर सांसद डा. यादवले सदस्यद्वय प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी दिएका हुन् ।

उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।

अपहरण भएको भए मानवअधिकारको उल्लंघन हुने भन्दै उनले मानवअधिकार पुनःस्थापना गर्न आयोगले भूमिका खेल्ने बताए ।

महोत्तरीस्थित घरमै रहेका बेला डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया