काठमाडौं, बैशाख १३ । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री महेश वस्नेतले मधेशी पार्टी फोड्न लागेको खुलेआम स्वीकारेका छन् ।
उनले मधेशी दल फोडेर आफ्नो पार्टी नेकपामा सामेल गराउने योजना रहेको खुलासा गर्दै भनेका छन्, ‘योजनाले मूर्त रुप नलिँदै अध्यादेश ल्याइदिई हाल्दा विफल भइयो ।’
पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा समाजवादी पार्टी फुटाउन उक्त पार्टीका सांसदलाई अपहरण गरेको आरोप लागेका वस्नेतले मधेशी दल फुटाएर नेकपामा सामेल गराउने योजना अनुसार नै काम भएको स्वीकारेका हुन् ।
सांसद वस्नेत, नेकपाकै अर्का सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालमाथि समाजवादी पार्टी फुटाउनका लागि समाजवादी पार्टीका सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ । उनीहरु तीन जना भएर महोत्तरीमा रहेका सांसद यादवलाई पार्टी फुटाउनकै लागि अपहरणको शैलीमा बैशाख १० गते बुधबार रातारात काठमाडौं ल्याएका थिए ।
तर प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा पार्टी फुटाउने खेल भएको थाहा पाउने वित्तिकै मधेशका दुई पार्टी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले बुधबार राति नै पार्टी एकताको घोषणा गरेका थिए । रुसले युक्रेनको भाग रहेको क्रिमियालाई आफ्नो देशमा विलय गराएको मोडलमा मधेशी पार्टी फोडेर नेकपामा सामेल गराउने खेलअन्तर्गत उनीहरु संलग्न भएको यस प्रकरणले खुलाएको छ । वस्नेतका अनुसार शुरुमा मधेशी दल फोडेर अलग दल बनाउने र केही महिनापछि उनीहरुलाई राजनीतिक छहारीसमेत दिनका लागि भन्दै नेकपामा सामेल गराउने योजना थियो ।
दल फोड्नका लागि सबै तयारी गरिसकेपछि मात्र दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने भनिएकामा तयारी पूरा नहुँदै पूर्वमन्त्री गोकुल बाँस्कोटाका कारण हतारमा अध्यादेश ल्याउँदा काम बिग्रेको पनि उनले स्वीकारेका छन् । सबै तयारी नै नहुँदै बाँस्कोटाले प्रधानमन्त्रीलाई तयारी सकिएको सूचना दिएको र सरकारले अध्यादेश ल्याउँदा अरुले खेल्न भ्याएको उनको निचोड थियो । सांसद अपहरण गरेको आरोप अस्वीकार गर्दै उनले मेरियट होटलमा राखिएका सांसद यादवलाई बाबुराम भट्टराईहरुले चाहिँ अपहरण गरेको तर्क गरेका छन् ।
यसबाट आफूलाई किञ्चित लज्जाबोध नभएको भन्दै वस्नेतले प्रधानमन्त्रीलाई मुछ्नुको कुनै तूक नभएको र प्रधानमन्त्री ओलीको निर्देशनमा यो काम नगरिएको पनि बताएका छन् । उल्टो उनले मधेशी दल अझै फुट्नै दाबी गर्दै त्यहाँभित्र सबैलाई समान अवसर दिन सुझाएका छन् ।
पार्टी नेतृत्व र मन्त्रीहरुलाई समेत थाहा नदिई निकै गोप्य ढंगले प्रधानमन्त्री ओलीले सोमबार बैशाख ८ गते एकाएक दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएका थिए । पार्टीभित्र अल्पतमा पर्दै गएका ओलीले कतै आफ्नै दल फुटाउन पो अध्यादेश ल्याएका हुन् कि भनेर नेकपा पार्टी पंक्ति सशंकित बनेको थियो । तर उनले यो अध्यादेश आफ्नो दल फुटाउनका लागि नभई अरु नै दल फुटाउनका लागि ल्याइएको प्रष्टीकरण समेत दिएका थिए ।
दल फुटाउने अध्यादेशका अतिरिक्त प्रधानमन्त्री ओलीले संवैधानिक परिषदमा विपक्षीलाई निषेध गर्ने संशोधन अध्यादेशसमेत ल्याएका थिए । लोकतान्त्रिक पद्धति र आचरणमै गम्भीर प्रश्न उठ्ने उक्त दुबै अध्यादेश बालुवाटारले पठाएको केही क्षणमै शितलनिवासमा रहेकी राष्ट्रपतिले जारी गरिदिएकी थिइन् ।
अध्यादेश ल्याएको ४८ घन्टा नबित्दै सांसद वस्नेतसहित तीन जना समाजवादी पार्टीका सांसद डा. यादवलाई खोज्दै महोत्तरी पुगेर आफ्नै गाडीमा उठाएर रातारात काठमाडौं ल्याएका थिए । प्रधानमन्त्री ओलीको प्रत्यक्ष निर्देशनमा आफ्नो पार्टी फुटाउन लागेको आभास पाएपछि समाजवादी र राजपाले बुधबार राति नै पार्टी एकीकरणको घोषणा गर्दै सरकारी योजनामा पानी फेकिदिएका थिए ।
प्रधानमन्त्री ओलीमाथि बालुवाटारमा बसेर सिंहदरबारको शक्ति दुरुपयोग गर्दै पार्टी विभाजन गर्ने जस्तो गम्भीर अपराध गरेको आरोप लागेको छ भने उनको यो हर्कतको सर्वत्र निन्दासमेत भएको छ ।
सर्वत्र आलोचना भएपछि र मधेशी दल फुटाउन आफ्नो षड्यन्त्र विफल भएपछि शुक्रवार मन्त्रिपरिषदको बैठक राखेर उनले दुबै अध्यादेश फिर्ता लिएका छन् । राष्ट्रपति विद्या भण्डारीले पनि सरकारले फिर्ता लिने निर्णय गरेको अध्यादेश खारेज गरेको सूचना निकालिसकेकी छिन् ।