२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

अध्यादेश जारी गर्नु आपत्तिजनक कदम र सरकारको गैह्र जिम्मेवार प्रवृत्ति : सभापति देउवा

1624 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गैह्र जिम्मेवार प्रवृत्ति देखाएको बताएका छन् । ोमबार विज्ञप्ति जारी गर्दै देउवाले सरकारले अध्यादेश जारी गर्नु आपत्तिजनक कदम भएको बताए ।

‘कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ’, विज्ञप्तिमा सभापति देउवाले भनेका छन् ।

उनले भनेका छन्, ‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’

संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको स्मरण गराउँदै उनले विज्ञप्तिमा भनेका छन्, ‘संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।’

सरकारले सोमबार ल्याएका अध्यादेश फिर्ता लिन उनले माग गरेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।’

प्रतिक्रिया