
काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/०७५ मा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ। गत आवको नाफा आर्थिक वर्ष २०७३/०७४ को भन्दा १.९२ प्रतिशत बढी भएको टेलिकमले जानकारी दिएको छ।
अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण पश्चात् गत आर्थिक वर्षमा टेलिकमले ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आय गरेको हो। टेलिकमको गत आवको आय आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २.१९ प्रतिशत बढी हो। टेलिकमले गरेको नाफाका आधारमा अब प्रतिसेयर आम्दानीमा अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा १.९६ ले वृद्धि भई प्रतिसेयर आम्दानी एक सय चार दशमलब ४५ रुपैयाँ पुगेको छ।
टेलिकमले केही वर्ष अघिदेखि सुरु गरेको ‘एकीकृत बिलिङ प्रणाली’ ल्यान्ड लाइन सेवासमेत सम्पन्न गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका सात ४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकामा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा भएको टेलिकले जनाएको छ।
२०७५ जेठ मसान्तसम्म टेलिकमको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजारभन्दा बढी छ। यसैगरी इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार छ। यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार र इन्टरनेटतर्फ २२ लाख २६ हजारभन्दा बढी वृद्धि भएको जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकामा गत जेठमा बजार हिस्सा २ प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पुगेको छ। टेलिकले चालु आवमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्ने योजना अगाडि बढाएको छ। यसका लागि पाँचवटा बोलपत्र आह्वान भइसकेको छ। यसैगरी पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा (धादिङको आरुघाटसम्म) कुल दुई हजार एक सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने टेलिकमले योजना बनाएको छ।
टेलिकमले गरेको नाफाका आधारमा अब प्रतिसेयर आम्दानी एक सय चार दशमलब ४५ रुपैयाँ पुगेको छ।
यस्तैगरी जीएसएम मोबाइल सेवामा चालु आर्थिक वर्ष २०७५/७६ मा पोस्टपेडतर्फ ५९ हजार आठ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ। यसै आवमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय दुई लाइन टेलिफोन वितरण गर्ने लक्ष्य टेलिकमले लिएको छ।
चालु आर्थिक वर्षमा पीएसटीएन (ल्यान्ड लाइन)सेवातर्फ ४२ हजार दुई सय ६१ लाइन टेलिफोन वितरण गर्ने टेलिकमको लक्ष्य छ। दूरसञ्चार क्षेत्रको बजारमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारका लागि सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवद्र्धन गर्ने लागेको छ। सहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य सहरमा तीन लाख क्षमताको फाइवर टु दी होम नेटवर्क विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गर्ने टेलिकमले जनाएको छ।
चालु आवमै विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम पाँच सय १२ केवइीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा वाइफाइ सेवा सञ्चालनमा ल्याउने टेलिकमले तयारी गरेको छ।
टेलिकमले सेवा विस्तार तथा गुणस्तर विकासका लागि करिब २२ अर्ब पुँजीगत लगानी गर्ने योजनातय गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि वृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने कार्यक्रम राखेको छ। यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको सञ्चालन आय ४४.२५ अर्ब पुर्याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ।